जङ्गली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
काठमाडौँ, कार्तिक २६ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ मा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार जङ्गली हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका २ की ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा राति जङ्गली हात्तीको बथान पसेर डगौंराको घर भत्काउनुका साथै उहाँलाई कुल्चिएको स्थानीय छलिलाल डगौंराले जानकारी दिनुभयो ।
उहाँका अनुसार लक्ष्मी र उहाँका श्रीमान् मोहन डगौंरा घरमा सुतिरहेका बेला हात्तीको बथानले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट मोहन भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थल पुगेको छ ।
