आधुनिक प्रविधिको प्रभावले फेरिँदै देउसीभैलोको मौलिक शैली

तिहार

काठमाडौँ, कार्तिक २६ । तिहारको आगमनसँगै गाउँघरमा गुञ्जिने देउसीभैलोका मौलिक भाका, मादल र झ्यालीका ताल तथा भट्याउने परम्पराले चाडपर्वको छुट्टै रौनक थप्ने गर्थे । साथीभाइ र युवायुवती समूह बनाएर घरघरमा पुग्ने, गीत गाउने, नाच्ने र घरपरिवारको सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा नेपाली समाजको सांस्कृतिक पहिचानका रूपमा रहँदै आएको छ । तर समयसँगै आधुनिक प्रविधि र मनोरञ्जनका नयाँ माध्यम भित्रिएपछि देउसीभैलो खेल्ने शैली पनि फेरिँदै गएको छ ।

केही वर्षअघिसम्म लमजुङका गाउँघरमा तिहारका बेला मादल, झ्यालीलगायत परम्परागत बाजागाजाको तालमा मौलिक गीत गाउने र भट्याउने चलन थियो । देउसीभैलोमा बलिराजाको प्रसङ्गदेखि तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्वसम्म समेटिएका गीत प्रस्तुत गरिन्थे । घरघरमा पुगेर देउसीभैलो खेल्दा घरधनीले आफ्नो गच्छेअनुसार अन्न, पैसा तथा अन्य सामग्री दिने र देउसीभैलो टोलीले परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै आशीर्वाद दिने परम्परा थियो ।

दोर्दी गाउँपालिकाका ७५ वर्षीय बुद्धिमान श्रेष्ठलाई पुरानो देउसीभैलोको सामूहिक रौनक अझै सम्झनामा ताजै छ । उहाँका अनुसार पहिले साथीभाइ एकै ठाउँमा भेला भएर परम्परागत बाजा बजाउँदै तिहारका मौलिक गीत गाउने, भट्याउने र नाचगान गर्ने गरिन्थ्यो । अहिले भने त्यस्तो परम्परागत शैली विस्तारै हराउँदै गएको छ ।

“पहिले देउसीभैलोमा आफ्नै मौलिक भाका र परम्परागत गीत गाउने चलन थियो, अहिले त्यस्तो शैली कम हुँदै गएको छ”, उहाँ भन्नुहुन्छ, “तिहारसँग सम्बन्धित मौलिक गीतभन्दा मनोरञ्जन र नाचगानलाई प्राथमिकता दिने आधुनिक गीत बढी बज्न थालेका छन् ।” उहाँका अनुसार कतिपय देउसीभैलो समूहमा विदेशी गीतसङ्गीतको प्रभावसमेत देखिन थालेको छ । मादल र झ्यालीको तालमा मौलिक भाकामा नाचगान गर्ने समूह भेटिनसमेत कठिन हुँदै गएको छ ।

देउसीभैलोको बदलिँदो शैलीलाई युवा पुस्ताले भने प्रविधिको सहजता र मनोरञ्जनसँग जोडेर हेर्ने गरेका छन् । मस्र्याङ्दी गाउँपालिकाका पूर्णबहादुर गुरुङका अनुसार अहिले देउसीभैलोमा डेक, उफर र माइकको प्रयोग बढेको छ । आधुनिक उपकरणले गीतसङ्गीत बजाउन र सामूहिक प्रस्तुति दिन सहज बनाएको उहाँको भनाइ छ ।

पहिले मादल बजाउन जान्ने मानिस सीमित हुनु र नयाँ पुस्तामा परम्परागत बाजाप्रति रुचि घट्दै जानुले पनि यसको प्रयोग कम भएको उहाँ बताउनुहुन्छ । प्रविधिको सहज उपलब्धताका कारण अहिले गीत बजाएर नाच्ने प्रवृत्ति बढेको छ । यसले देउसीभैलोलाई मनोरञ्जनात्मक बनाए पनि पुराना गीत, भाका र बाजागाजाको अभ्यास कमजोर हुँदै गएको उहाँको चिन्ता छ ।

गुरुङका अनुसार आधुनिक उपकरणको प्रयोगलाई मात्र प्राथमिकता दिँदा देउसीभैलोको मौलिक पहिचान गुम्ने जोखिम छ । नयाँ पुस्ताले तिहारसँग सम्बन्धित परम्परागत गीत गाउने, नाच्ने र संस्कृतिको महत्त्व बुझ्ने अभ्यास गर्न आवश्यक रहेको उहाँ बताउनुहुन्छ । मौलिक परम्परा संरक्षणमा सबै पुस्ता र समुदाय एकजुट हुन नसके आगामी दिनमा देउसीभैलोको पुरानो स्वरूप लोप हुन सक्ने उहाँको चिन्ता छ ।

स्थानीय लोकसंस्कृतिका जानकार रामबहादुर घिमिरे देउसीभैलोलाई मनोरञ्जनको माध्यममा मात्र सीमित गर्न नहुने बताउनुहुन्छ । उहाँका अनुसार यो परम्परा सामाजिक सद्भाव, आपसी आत्मीयता र पुस्तान्तरणसँग जोडिएको सांस्कृतिक अभ्यास हो । देउसीभैलोले गाउँघरमा सबै उमेर र वर्गका मानिसलाई एकै ठाउँमा जोड्नुका साथै दुःखमा रहेका व्यक्तिलाई समेत केही समय खुसी र मनोरञ्जन प्रदान गर्ने गरेको छ ।

देउसीभैलोमार्फत घरपरिवारलाई शुभकामना तथा आशीर्वाद दिने र समाजमा सुख, शान्ति एवं आपसी सद्भावको सन्देश फैलाउने परम्परागत पक्षलाई पनि जोगाउन आवश्यक रहेको उहाँको भनाइ छ । आधुनिक प्रविधिको बढ्दो प्रयोगले परम्परागत गीत, भाका र बाजागाजाको अभ्यास कमजोर बनाउँदै लगेकाले यसको संरक्षणमा स्थानीय तह र समुदायले विशेष ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ ।

घिमिरेले नयाँ पुस्तालाई देउसीभैलोको सांस्कृतिक महत्त्व बुझाउने, परम्परागत गीत तथा भाकासम्बन्धी तालिम सञ्चालन गर्ने र मौलिक बाजागाजा प्रयोग गर्ने सांस्कृतिक समूहलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ । विद्यालयस्तरदेखि नै स्थानीय लोकसंस्कृति र परम्परागत गीतसङ्गीतबारे जानकारी गराउन सके नयाँ पुस्तामा यसको आकर्षण बढाउन सकिने उहाँको सुझाव छ ।

वास्तवमा देउसीभैलोको परिवर्तन केवल गीतसङ्गीत र बाजागाजामा आएको बदलाव मात्र होइन, यो गाउँघरको सामूहिक जीवनशैली र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक अभ्यासमा आएको परिवर्तन पनि हो । प्रविधिले मनोरञ्जनलाई सहज र आकर्षक बनाएको भए पनि मौलिक भाका, भट्याउने शैली र परम्परागत बाजागाजाको स्थान लिन सकेको छैन ।

समयअनुसार देउसीभैलो खेल्ने शैली बदलिनु स्वाभाविक भए पनि यसको मौलिक पहिचान गुम्न दिनु हुँदैन । आधुनिक उपकरणसँगै मादल, झ्याली र परम्परागत लोकभाकालाई पनि स्थान दिन सके नयाँ पुस्ताले प्रविधिको मनोरञ्जन लिनुका साथै आफ्नो संस्कृतिसँगको सम्बन्धसमेत कायम राख्न सक्नेछन् । त्यसका लागि स्थानीय समुदाय, अभिभावक, सांस्कृतिक अभियन्ता र स्थानीय तहको साझा पहल आवश्यक देखिन्छ । मौलिक देउसीभैलोको संरक्षण गर्नु तिहारको रौनक जोगाउनु मात्र नभई नेपाली समाजको सांस्कृतिक विरासत भावी पुस्तालाई हस्तान्तरण गर्नु पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *