३८ वर्ष पुरानो ‘नासो’ भेटेपछि प्रदीप ज्ञवालीको ‘नोस्टाल्जिया’

काठमाडौं, २७ जेठ । नेकपा (एमाले)ले केही समय अघि एमाले मुख्यालय च्यासलमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि अनुशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । एमालेका तर्फबाट विजयी देशभरीका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्षका लागि आयोजना गरेको उक्त कार्यक्रममा छत्रकोट गाउँपालिका गुल्मीकी उपाध्यक्ष सावित्रा ज्ञवाली पनि हस्याङफस्याङ गर्दै कार्यक्रम हलभित्र प्रवेश गर्नुभयो ।

सावित्रा कार्यक्रम हलभित्र छिर्दा एमाले स्कूल विभागका प्रमुख समेत रहनु भएका उपमहासचिव प्रदीप ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग गफगाफमा व्यस्त हुनुहुनुन्थ्यो । सावित्रा ‘नमस्कार कमरेड’ भन्दै उपमहासचिव ज्ञवालीको नजिक पुग्नु भयो । ज्ञवालीले पनि आफ्नै चिरपरिचित मुस्कानसहित नमस्कार फर्काउनुभयो । एकछिन ठिङ्ग उभिँएपछि सावित्राले झोलाबाट केही सामाग्री झिक्नुभयो र ‘यो हजुरको नासो, आज हजुरको नासो हजुरलाई नै भेटेर जिम्मा लगाउन पाउँदा निकै खुशी मिलेको छ, यो तपाईँको नासो लिनुहोस्’ एउटा थोत्रो डायरी ज्ञवालीलाई थमाउनुभयो ।

करीब ३८ वर्ष पुरानो डायरी हात पारेपछि पूर्वस्मृतिमा केहीबेर डुबुल्की मार्दै उपमहासचिव ज्ञवालीले सानो बालकले मन परेको खेलाउना भेटाउँदा रमाएर खेलाए जसरी एकछिन त्यो थोत्रो डायरीका पन्नाहरु पल्टाउनुभयो । छेउमै बस्नु भएका सुशील ज्ञवालीले फुत्त प्रदीपको हातबाट त्यो पुरानो डायरी तान्दै भन्नुभयो– आहा ! तपाईँले लेख–रचना भएको डायरी हो ? कति राम्रा अक्षर ?’ सुशीलले यति भनेपछि ज्ञवाली पनि मख्ख पर्दै फेरि त्यो डायरी हेरेर फेरि एकछिन टोलाउनुभयो ।

यी सबै दृष्यलाई नजिकैबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पनि निहाली रहनुभएको थियो । उहाँले पनि त्यो डायरी मागेर केही पन्ना पल्टाउनु भयो । सन् १९८६ अक्टुवर अर्थात आज भन्दा करीब ३८ वर्ष अघि ‘स्वागत गान’ शीर्षककमा शीतविन्दु नामबाट लेखेको दुई हरफ कविता ‘हतकडी नेल चुँडाउने लक्ष्य मुटुमा सजाई, उठाई हाम्रो कसिलो मुठ्ठी स्वागत तिमीलाई’ पढ्नुभयो ।

सायद कविताले डंगोलको पनि मन छोयो क्यारे ! उहाँले ज्ञवालीतिर फर्किएर भन्नुभयो– ‘मैले कमरेडलाई प्रदीप ज्ञवाली नामले मात्रै बढी चिनेकी हुँ, शीतविन्दु भूमिगत नामबाट लेखिएका यी कविताले मेरो मन छोयो ।’ डंगोलले ‘बाबालाई चिठ्ठी’ शीर्षकमा सन् १९८५ नोभेम्बर १७ मा लेखेको ‘पढी र गुनी देशको तारा भएर निस्कुँला, घाँस काट्न मात्रै नभन्नुुस बाबा म जान्छु स्कुल’ रचना पनि पढ्नुभयो । अहिले छोराछोरी बरावरी भन्ने मान्यता छ । त्यतिबेला छोरीलाई पढ्न, लेख्नबाट समेत वञ्चित गरिने अवस्थालाई उनेर लेखिएको त्यो रचना साच्चिकै कालजयी थियो ।

यी सबै दृष्यहरु नियाली रहेको यो पङ्क्तिकारलाई यो विषयमा केही लेख्ने हुटहुटी जागिरहेको थियो । हृदयभरीको मेरो शुभकामना तिमीलाई ! शीर्षकको ‘मैलो कुण्डभरी सफा कमल झैँ फक्रिरहोस् भावना, जीवन चम्किरहोस् प्रिय ! किरण झै मेरो कामना !’ रचना पढ्दै यो पङ्क्तिकारले ‘तपाईँलाई यो रचना करीब ३८ वर्षपछि हात पार्दा कस्तो अनुभूति भैरहेको छ ? भन्दै प्रश्न गर्दा ज्ञवाली एकछिन भावुक भन्नुभयो । ‘पहिलो कुरा त यसले मलाई निकै नोस्टाल्जिया (पूर्वस्मृतिमा डुबुल्की मार्नु) बनायो । म निकै भावुक भएँ र पूर्वस्मृतिमा केहीबेर डुबुल्की मारे,’ एक लहर पछिको कुर्सीमा बसेर यो पङ्क्तिकारले उहाँको आवाज रेकर्ड गरिरहेको थियो, असजिलो गरी पछाडि फर्किएर उहाँले भन्नुभयो,’ ‘यो रचनासहितको डायरी पाउँदा विगतलाई ताजा बनाएको अनुभूति पनि भयो ।’

ज्ञवाली २०३६ सालमा भूमिगत भूमिगत हुनुभएको रहेछ । त्यतिबेला उहाँको उमेर १७ वर्षको मात्रै थियो रे ! ‘त्यो दिन सम्झिँदा मलाई अहिले कल्पनाको कथा जस्तो मात्रै लाग्छ,’ उहाँले धेरैलाई तिलस्मी जस्तो लाग्ने ३८ वर्षअघिका कथाहरुको पन्तुरो खोतल्दै भन्नुभयो, ‘ त्यतिबेला हामी प्रत्येकका पछि प्रशासन लागेको हुन्थ्यो । हामीलाई कढा वारेन्ट काटिएको हुन्थ्यो,’ ‘त्यतिबेला इन्काउण्टर गरेर मान्छेको हत्या गर्ने, झुटा मुद्धामा वर्षौसम्म जेलमा थन्क्याउने जस्ता क्रम चलिरहेकै थिए ।’

तर, उहाँहरुले ती सबै जोखिम मोलेरै परिवर्तको अविचलित यात्रामा आफूहरुलाई समाहित गर्नुभएको थियो । ‘हाम्रा लागि त्यतिबेला ‘सेल्टर’हरु मूल्यवान थिए । हामी त्यतिबेला आमरुपमा विपन्न परिवारका घरहरुलाई नै ‘सेल्टर’ बनाएर बस्थ्यौँ,’ डायरी हातमा बोकेर ज्ञवालीले रेकर्ड गरेको सामाग्री बजाए जस्तै फररर विगतको पन्तुरो खोतल्दै जानुभयो, ‘कतिपय ‘सेल्टर’ दाताहरुलाई बिहान–बेलुकाको छाक टार्न पनि धौधौ हुन्थ्यो । तर, त्यस्तो बेलामा पनि जनताले हामीलाई माया गरेर खाने–बस्ने व्यवस्था गरेका थिए । हामी ‘सेल्टर’मा परिचय लुकाएर बस्थ्यौँ । म जुन घरमा बस्थेँ । मलाई त्यहाँ प्रदीप ज्ञवाली भनेर चिन्ने संभावना नै थिएन । हाम्रा भूमिगत नाम हुन्थे ।’

हो, साच्चिकै त्यतिबेला कहाँको मान्छे हो ? उसको पृष्ठभूमि के–हो ? राम्रो–नराम्रो के–हो ? केही थाहा हुँदैनथ्यो । तर, जनताले अथाह विश्वास र माया गर्थे । ‘त्यो विश्वास, त्यो माया, संरक्षण अमूल्य थियो,’ बोल्दै गर्दा फेरि ज्ञवाली अलिक भावुक बन्नुभयो, ‘कुखुराको माउले चल्ला छोपेजसरी उहाँहरुले हामीलाई जोगाउनु हुन्थ्यो । हाम्रो उर्जाको स्रोत नै त्यहि थियो ।’

ज्ञवाली पार्टीको पुरानो कार्यकर्ताको घरमा भूमिगत बस्नु भएको रहेछ । ‘उहाँ भर्खरै वित्नुभयो । उहाँको छोरा शम्भु ज्ञवाली पार्टीको पुरानो कार्यकर्ता हुनुहुन्छ । ०४६ सालको आन्दोलनमा उहाँलाई प्रहरीले चरम यातना दिएको थियो । गिरफ्तारपछि उहाँले मृत्युपछिको जीवन प्राप्त गर्नुभएको हो,’ डायरी लेख्दा भूमिगत बसेको घरको याद गर्ने उहाँले भन्नुभयो, ‘माओवादी आन्दोलनमा पनि उहाँलाई पीडा दिएका थिए । अहिले उहाँको धर्मपत्नी सावित्रा ज्ञवाली (जस्ले ज्ञवालीलाई थोत्रो डायरी थमाउनु भएको थियो) गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।’

ज्ञवालीले डायरी भेटेपछिका केही अनुभव पनि सुनाउनुभयो । ‘भूमिगत अवस्थाका यो डायरी नयाँ आउने पुस्तालाई हाम्रो बाटो कस्तो उतार–चढावको बाटोबाट गुज्रिदैँ अघि बढेको हो । हाम्रो पार्टी कसरी निर्माण भएको हो । र, यो आन्दोलनलाई यहाँसम्म ल्याउन अघिल्लो पुस्ताले कति महत्वपूर्ण भूमिका खेले, कस्तो कष्टकर यात्रा पार गरे भन्ने दस्तावेज पनि हो,’ उहाँले भन्नुभयो, ‘यो डायरीमा मेरा पुराना गीतहरु छन् । ती गीतहरु त्यतिबेला राजनीतिक जागरणका लागि साधन थिए । हामी तीजका गीत बनाएर, लोकगित बनाएर, जानी–नजानी गाएर हामी ग्रामिण भेगका जनतालाई संगठित गथ्र्यौ, जागृक गथ्र्यौ । अहिले त्यो पुरानो डायरी फेला पार्दा महत्वपूर्ण खजना हराएको थियो । फेला पारेँ भन्ने जस्तो महशुस भएको छ ।’

अहिले ज्ञवाली पेपरलेस प्रविधिमा हुनुहुन्छ । तर, त्यो डायरीमा उहाँले लेखेका अक्षरहरु थिए । ‘मलाई यसले नोस्टाल्जिया बनायो । अहिले म पेपरलेस जस्तै छु । अहिले म कागज त्यति धेरै प्रयोग गर्दिँन,’ उहाँले भन्नुभयो, ‘तर, त्यतिबेला हामीलाई कागजकै पनि अभाव हुन्थ्यो । हामी त्यतिबेला लुकाउन पनि सजिलो हुने भएकाले र कागज पनि बचत गराउनु पर्ने भएकाले सानो डायरीमा मसिना र राम्रा अक्षर लेख्ने प्रयास गथ्र्यौ । त्यसले मलाई पूराना दिनको झल्को दिएको छ । त्यतिबेलाका कतिपय गीत, कविताहरु अहिलेको अवस्थामा पनि सान्दर्भिक होलान् भन्ने लागेको छ । म हेर्छु र कतिपय पुनर्लेखन पनि गर्छु ।’

ज्ञवालीसँग यति कुरा गरेपछि आलेखलाई पूर्णता दिन सावित्रासँग पनि थोरै कुराकानी गर्ने रहर भयो । डायरीकै विषयमा कुराकानी गर्दा सावित्रा पनि केही भावुक बन्नुभयो । ‘मेरो माइतीघर अर्घाँखाची हो । मेरो बिबाह गुल्मी जिल्लाको हालको छत्रकोट गाउँपालिका वडा नम्बर–४ हो,’ उहाँले परिचयबाटै आफ्ना भनाई सुरु गर्नुभयो, ‘मेरो पति र ससुरा बुबा त्यतिबेला पनि कम्युनिष्ट हुनुहुन्थ्यो । त्यसैले एमालेका वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता दलबहादुर रानालगायतको ‘सेल्टर’ हाम्रो घर थियो ।’

त्यतिबेला सावित्राको बिबाह भैसकेको रहेछ । ‘कमरेड प्रदीप ज्ञवाली ‘सेल्टर’ बस्दा यो डायरी छाड्नु भएको रहेछ । देशमा पञ्चाय ढल्यो, बहुदल आयो, गणतन्त्र आयो । तर, उहाँको त्यो ‘नासो’ अहिलेसम्म पनि सुरक्षित रहेछ,’ उहाँले भन्नुभयो, ‘केही महिना अघि पुराना पुस्तकहरु मिलाउँदै जाँदा त्यो डायरी सुरक्षित भेटियो । प्रदीप कमरेडको त्यो पुरानो डायरी भेटेपछि मलाई कतिबेला उहाँलाई भेटौँ र हात लगाउँ भन्ने खुलदुली भैरहेको थियो ।’

नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरुलाई काठमाडौंमा अनुशिक्षण कार्यक्रमले त्यो मेलो मिलाएकोमा उधुम खुशी लागेको रहेछ । ‘प्रदीप कमरेड स्कूल विभाग प्रमुख भएकाले अवश्य पनि उहाँसँग कार्यक्रममा भेट हुन्छ भन्ने भएपछि मैले काठमाडौँ आउनु दूइ–तीन दिन अघिदेखिनै झोलामा हालेर नछुटोस भनी जतनसँग राखेकी थिएँ,’ उहाँले भन्नुभयो, ‘कमरेड ज्ञवालीलाई भेटेर हातमै थमाउन पाउँदा निकै खुशी लागेको छ । प्रदीप कमरेडले सायद यो डायरी विर्सिसक्नु भएको थियो । मलाई पार्टीप्रतिको मायाले पनि यो डायरी सुरक्षित राख्न मद्त मिल्यो भन्ने लागेको छ । मैले कमरेड प्रदीप ज्ञवालीको नासो सुम्पिन पाएँ खुशी छु ।’