सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु : चालक फरार

काठमाडौँ, वैशाख १० । सिरहाको चोहर्वा-सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा सोमबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पाँच वर्षीया बालिका खजिजा खातुन रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार दिउँसो करिब १२ बजे सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२-०१-००३ प ७६९६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै मोटरसाइकल चालक फरार भएको र उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश बहादुर पालले जानकारी दिनुभयो । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकललाई भने नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।