चितवनकाे हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत
चितवन, ३० जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी दुर्गम बस्तीमा स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् ।
इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट बञ्चित हुन पुगेका हुन् ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार चार वर्षअघि ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा विद्युत् सेवा विस्तार गर्न ढिला भएको हो । उहाँका अनुसार विद्युतीकरणका लागि वडा नम्बर १ र २ मा आर्थिक वर्ष २०७५/७६ मै बोलपत्र भएर पनि काम अघि बढेन ।
सो समयमा विद्युतीकरणका लागि ठेक्का लिएर ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा विद्युत् सेवा विस्तार गर्न सकेन । अहिले काम नगर्ने ठेकेदारलाई मुद्दा हालेर ठेक्का रद्द गरेर पुनः ठेक्का लगाएर काम पनि अघि बढेको अध्यक्ष गुरुङले बताउनुभयो ।
“काम नगर्ने ठेकदारलाई मुद्दा हालेपछि पुनः चालु वर्षमै नयाँ बोलपत्र आह्वान भयो, त्यतिखेर छ करोडको ठेक्का लागेको थियो, अहिले १४ करोडमा स्तरवृद्धि र विस्तारको काम थालनी भएको छ, अब कुनै पनि बहानामा काम रोकिँदैन, प्राधिकरणसँगको समन्वयमा काम भइरहेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।
चालु आवको दोस्रो चौमासिकभित्रै ठेक्का प्रक्रिया टुङ्गिएर नयाँ ठेकेदारले जिम्मा लिएपछि अहिले विद्युत् सेवा पुग्न बाँकी गाउँमा धमाधम विद्युतीकरणको काम सुरु भएको उहाँले बताउनुभयो ।
गाउँपालिकामा समग्रमा ५५ प्रतिशत घरमा मात्र विद्युत् पुगेको छ । अध्यक्ष गुरुङका अनुसार वडा नं ३, ४ र ५ को ९० प्रतिशत घरमा बिजुली पुगिसकेको छ । तर पहाडी क्षेत्र अधिक रहेको वडा नं १ मा १५ प्रतिशत, ६ मा ५० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ ।
वडा नं २ मा कुनै पनि ठाउँमा बिजुली छैन । विद्युतीकरणको क्रममा केही समयअघि पर्यटकीय एवं ऐतिहासिक क्षेत्र उपरदाङगढीमा बिजुली बलेसँगै वडा नंं ७ को भने सबै ठाउँमा बिजुली पुगिसकेको उहाँले बताउनुभयो ।
वडा नं २ मा विद्युत् विस्तारका लागि पोल पुगेपछि स्थानीयमा आशा भने पलाएको छ । “चार वर्षअघि नै ठेक्का आह्वान भएको सुनेका थिएँ, काम सुरु नहुँदा आश नै मरेको थियो, तर अहिले घरको आँगनमै पोल झरेपछि आशा पलाएको छ”, स्थानीय टीका गुरुङले भन्नुभयो ।”
यस्तै यतिबेला टोलटोलमा बिजुली पोल ढुवानीको काम भइरहेको इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताउनुभयो । यहाँका सबै टोलटोलमा सडक पुगे पनि बिजुली बाल्नबाट यहाँका स्थानीय बञ्चित भएको उहाँको भनाइ छ ।
इच्छाकामनाको सबैै वडामा विद्युत् विस्तार र स्तरवृद्धिको काम हुनलागेको हो । अध्यक्ष गुरुङका अनुसार काममा कुनै अवरोध नभएमा आगामी आवभित्रै इच्छाकामनाका सबै स्थानमा विद्युत् पुग्नेछ । गाउँपालिकाले विद्युतीकरणसँगै विपन्न समुदायको नागरिकको घरमा निःशुल्क विद्युत् मिटरसमेत जडान गर्दै आएका छन् ।