प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्तासँग छलफल सुरु

काठमाडाैं, ३१ जेठ । प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको छ ।

समितिले बिहीबार कार्कीको सुनुवाइ गर्ने तय गरेको छ । त्यसको अघिल्लो दिन उजुरीकर्ताहरुलाई उनीहरुको उजुरीमाथि छलफल गर्न बोलाइएको हाे।

प्रधानन्यायाधीशविरुद्ध २९ जनाले उजुरी दिएकामा २३ जना उजुरीकर्ता समितिको आजको बैठकमा छलफलका लागि सहभागी छन् ।

ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उजुरीको गम्भीर्यता हेरी पहिले सामान्य प्रकृतिका उजुरीमाथि छलफल अगाडि बढाउने जानकारी दिनुभयो ।

यस अघि बैठकमा समितिका सदस्य सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले उजुरीहरु फरक–फरक खालका भएका कारण सबै उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सांसद महेश बर्तौलाले उजुरीहरु अनुमान गरेअनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कतिपय उजुरीहरु राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढङ्गले छलफल गर्नुपर्ने उहाँको भनाइ थियो ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले भन्नुभयो, “कुन विषयलाई गहन भन्ने कुन विषयलाई सामान्य भन्ने ? सबैले गहन विषय भएरै उजुरी दिएको हुनुपर्छ, त्यसैले सबैभन्दा पहिला उजुरीकर्ताको उजुरी सुनौँ, अनि छलफल अगाडि बढाऔँ ।”