शुक्लाफाँटाका संवेदनशील स्थानमा ‘सिसी क्यामेरा’ जडान

कंचनपुर, १८ असार । कंचनपुरकाे शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सिसी क्यामेरा जडान गरेको छ ।

अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र सडक दुर्घटना न्यूनीकरण गर्नका लागि नगरपालिकाले सिसी क्यामेरा जडान गरेको हो ।

नगरपालिकाका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने तीन बजार वन समिति, झलारी र कलुवापुर क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् ।

बजार क्षेत्रमा हुने चोरी, लुटपाट, अन्य अपराधिक क्रियाकलाप, बढ्दै गएको सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक समस्या समाधान गर्ने उद्देश्यले क्यामेरा जडानको कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो ।

उहाँका अनुसार सुरक्षाको दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रको पहिचान गरी क्यामेरा जडानको कार्य गरिएको छ । कलुवापुर बजार क्षेत्रमा दुई, झलारी बजारमा दुई, प्रगति टोलमा दुई, शान्तिपथ रोडमा दुई, कलुवापुर वन क्षेत्रमा दुई, पूर्वपश्चिम राजमार्गको नयाँ प्रतिक्षालय नजिक दुई गरी १२ सिसी क्यामेरा जडान गरिएको छ ।

नगर क्षेत्रका अन्य सुरक्षाका र सवारी दुर्घटनाका दृष्टिकोणले संवेदनशील रहेका क्षेत्रमा अगामी आवमा सिसी क्यामेरा जडान गर्दै लैजाने योजना रहेको नगर प्रमुख रणबहादुर महराले बताउनुभयो ।