सुन तस्करी प्रकरणमा संलग्न भएकाे आशंकामा भन्सार जाँच पासमा कार्यरत सबै कर्मचारी निलम्बन गर्ने तयारी
काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागले जाँच पास भएर विमानस्थल बाहिर निस्किसकेकाे अन्दाजी १ सय किलाे सुन बरामद प्रकरणमा छानबिन गर्ने भएको छ।
विमानस्थलको भन्सार जाँचपासमा संलग्न व्यक्तिहरूलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।
विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीका कारण तस्करले फाइदा उठाएको हो भन्नेबारे अनुसन्धान अघि बढाएको पनि जनाएकाे छ ।
राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएर बाहिर आएकाे अन्दाजी १ सय किलाे सुन मंगलबार बरामद गरेको थियो।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको अन्दाजी १ सय किलाे सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो ।
यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।