बागलुङमा झोलुङ्गे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै

बागलुङ, ५ साउन । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।

दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफलठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।

निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ महिनाअगावै निर्माण भएको छ ।

काठमाडौँको सस्पेन्सन वृजि डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीसँग विसं २०७९ असार १५ गते बिएलपी कन्ट्रक्सनसँग १८ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएकामा छ महिनाअगावै निर्माण भएको हो ।

इन्जिनियर सापकोटाका अनुसार ‘डि’ टाइप मोडेलमा निर्माण भएको उक्त झोलुङ्गे पुलको उचाइ ६० मिटर अग्लो छ । गलकोट नगरपालिकाभित्र दुई सय २७ मिटर लामो झोलुङ्गे पुल पहिलोपटक निर्माण भएको हो ।

साविक दुदिलाभाटी गाउँको तीन वटा वडाबासीलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडा कार्यालय र भाटी बजारलाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताउनुभयो ।

उहाँका अनुसार पैदल यात्रुलाई काफलठुटा हुँदै, चाउथेखोला, मान्द्रेखोला तरेर गौदी पुग्न एक घन्टा लाग्नेमा पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने भएको छ । पाँच वर्षदेखिको अनवरत प्रयास र पहलपछि पुल निर्माण गर्न सफल भएको गलकोटका समाजसेवी ललिता थापाले जानकारी दिनुभयो ।