‘हनुमानढोकामा बस्ने सैनिकले काठमाडौंको संस्कृति र सम्पदाको मर्म पनि बुझ्नु पर्दछ’

काठमाडौं, ८ साउन । नेपाली सेनाका प्रमुख सेनानी विकास शाक्यले काठमाडौंको हनुमानढोका दरवार भित्र बस्ने श्री शार्दूल जंग गुल्मका सैनिक जवानहरूले केवल सैनिक गतिविधि मात्र होइन, काठमाडौंको संस्कृति र सम्पदाको मर्म र मूल्यलाई समेत सम्झेर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘हनुमानढोका क्षेत्र काठमाडौंको मुटु जस्तो ठाउँ हो, यहाँ बस्दा यहाँका स्थानीय जनतासँग समन्वय गरेर काम गर्नुपर्दछ ।’

हनुमानढोका दरवार क्षेत्रको सुरक्षार्थ बसेका नेपाली सेनाको श्री शार्दूल जंग गुल्मले आफ्ना जवानहरूका लागि आयोजना गरेको बेकरी तालिमको आइतवार समापन समारोहलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँ सो गुल्मका पूर्व गुल्मपति पनि हुनुहुन्छ । आफू गुल्मपतिका रुपमा रहेका बेला गुल्मकै पहलमा हनुमानढोका क्षेत्रमा पार्किङ हटाउने, अनावश्यक सवारी साधनलाई प्रवेश निषेध गर्ने, बसन्तपुर सौन्दर्यीकरणको लागि ठाउँ ठाउँमा आकर्षक गमला राख्ने, ढुंगेधाराहरू सरसफाइ गर्ने, विदेशी पाहुनाहरू आउँदा कुमारी घर सफा गर्ने, कतै आगलागी हुँदा उद्धारमा खट्ने जस्ता कार्यहरू गरिएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय जनताको हितलाई ध्यानमा राखेर हामीले यी कार्यहरू गरेका थियौँ । त्यो अहिले पनि जारी नै छ । तर हामीले त्यसको प्रचार प्रसार गरेनौँ, हल्ला पनि गरेनौँ ।’

बेकरी तालिमको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै वर्तमान गुल्मपति सेनानी पूर्ण प्रजापतीले शार्दूल जंग गुल्मले सैनिक कर्तव्य निर्वाह गर्नुका साथसाथै काठमाडौंका स्थानीय जनताको संस्कृति र सम्पदालाई सहयोग गर्ने काम पनि गर्दै आइरहेको बताउनुभयो । तालिमबाट प्राप्त ज्ञानलाई आफू जहाँ रहे पनि त्यसको भुरपुर उपयोग गर्न पनि उहाँले प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो ।

१० दिनसम्म सञ्चालित उक्त तालिम प्रमुख प्रशिक्षक सजना नकर्मीले दिनुभएको थियो । यसमा १९ जना सैनिक लगायत स्थानीय महिला समेत गरी २३ जना प्रशिक्षार्थी सहभागी थिए ।

सोही कार्यक्रममा आउँदो इन्द्रजात्रालाई लक्षित गरी सञ्चालन गरिएको धिमे प्रशिक्षणको औपचारिक आरम्भ पनि गरिएको थियो । धिमे बाजाको प्रशिक्षण बाजा गुरु एवं नेवाः देय् दबू अन्तर्गत रहेको नेवाः ल्यायम्ह दबूका अध्यक्ष सुदन मुनिकारले दिइरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *