अफ्रिकी मुलुक नाइजरमा सैन्य कू
एजेन्सी, ११ साउन । पश्चिमी अफ्रिकी मुलुक नाइजरमा सैन्य कू भएको छ । सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको बताएकाे हाे ।
राष्ट्रपति बाजुमलाई राष्ट्रपति कार्यालयमै नियन्त्रणमा लिएको केही घन्टापछि बुधबार सरकारी टेलिभिजनबाट सम्बोधन गर्दै कर्नेल अमाडोउ अब्ड्रामानेले नाइजरका प्रतिरक्षा तथा सुरक्षा निकायहरूले शान्ति सुरक्षाको अवस्था बिगारिरहेको र कुशासन चलाइरहेको बाजोउमको शासन अन्त्य गर्ने निर्णय गरेको बताए।
उनले नाइजरको अन्तर्राष्ट्रिय सीमा बन्द भएको, देशव्यापी संकटकाल घोषणा गरिएको र गणतन्त्रका सबै संस्थाहरू निलम्बन भएको पनि टेलिभिजनमा बताएका छन्। साथै सेनाले देशको सिमाना बन्द गरेको पनि बताएको छ ।
विश्व तथा क्षेत्रीय नेताहरूले बाजुमलाई रिहा गर्न आह्वान गरेका छन् । दुई वर्ष अघि उनले नाइजरको सत्ता सम्हालेका हुन् ।
छिमेकी बेनिनका राष्ट्रपति प्याट्रिस टालोन मध्यस्थता प्रयासका लागि नियामेतर्फ प्रस्थान गर्ने तयारीमा रहेको पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदायले जनाएको छ ।
राष्ट्रपति र उनको परिवार सकुशल रहेको सेनाले बताएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निःशर्त तत्काल रिहा गर्न आह्वान गर्नुभएको छ । अफ्रिकी सङ्घ र युरोपेली सङ्घले पनि सैन्य विप्लवको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाईको माग गरेका छन् ।
भूपरिवेष्ठत मुलुक नाइजर सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएको थियो। स्वतन्त्र भएयता नाइजरमा यसअघि चार पटक सैन्य कू भइसकेको छ।