डिमेन्सिया रोकथाम र पहिचानका लागि बेलायतमा २ करोड पाउन्डको एआई अनुसन्धान केन्द्र स्थापना हुँदै
लन्डन, २३ कात्तिक । डिमेन्सिया (मनोभ्रंश) रोगको समयमै पहिचान, रोकथाम र उपचारलाई प्रभावकारी बनाउन बेलायतमा कृत्रिम बौद्धिकता (एआई) तथा अत्याधुनिक तथ्यांक प्रणाली विकास गर्ने उद्देश्यले २ करोड पाउन्डको अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
एक्सेटर विश्वविद्यालयको नेतृत्वमा स्थापना हुन लागेको ‘ब्रेनिएक हब’ का लागि बेलायतको इन्जिनियरिङ तथा भौतिक विज्ञान अनुसन्धान परिषद् (ईपीएसआरसी) ले १ करोड पाउन्ड उपलब्ध गराउनेछ । बाँकी १ करोड पाउन्ड उद्योग, परोपकारी संस्था तथा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का साझेदारहरूले योगदान गर्नेछन् ।
छ वर्षसम्म सञ्चालन हुने यस परियोजनामा बेलायतका ११ विश्वविद्यालय र एनएचएसका १० स्वास्थ्य केन्द्र सहभागी हुनेछन् । अनुसन्धानअन्तर्गत देशभर १० वटा ब्रेन हेल्थ क्लिनिक स्थापना गरी डिमेन्सियाको प्रभावकारी पहिचान, रोकथाम र उपचारका उपायबारे अध्ययन गरिनेछ ।
परियोजनाले डिमेन्सियाको जोखिम न्यूनीकरण गर्नुका साथै रोग पहिचानका लागि लाग्ने समय आधा घटाउने लक्ष्य राखेको छ ।
ब्रेनिएक हबका निर्देशक तथा एक्सेटर विश्वविद्यालयका क्लिनिकल इपिडिमियोलोजी र डिजिटल हेल्थका प्राध्यापक डेभिड लिवेलिनले डिमेन्सिया पहिचान गर्नु नै यस क्षेत्रमा सबैभन्दा कठिन चुनौती रहेको बताए ।
उनका अनुसार एनएचएसका क्लिनिकमा विकास गरिने प्रविधिले रोगका लक्षण देखिनुअघि नै मस्तिष्कमा देखिने प्रारम्भिक परिवर्तन पहिचान गर्न सहयोग गर्नेछ । यसबाट व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार रोकथामका व्यक्तिगत योजना तयार गर्न सकिनेछ ।
विश्वविद्यालयका अनुसार बेलायतमा हाल करिब ९ लाख ८२ हजार मानिस डिमेन्सियाबाट प्रभावित छन् । सन् २०४० सम्म यो संख्या बढेर १४ लाख पुग्ने अनुमान गरिएको छ । त्यस्तै, यस रोगको वार्षिक आर्थिक भार दोब्बरभन्दा बढी हुँदै ९० अर्ब पाउन्ड पुग्ने प्रक्षेपण छ ।
बेलायत अनुसन्धान तथा नवप्रवर्तन संस्था (यूकेआरआई) ले सन् २०२९ सम्म शंकास्पद डिमेन्सिया भएका व्यक्तिमध्ये ९२ प्रतिशतको १८ साताभित्र निदान गर्न सक्ने प्रविधि विकासका लागि ८ करोड पाउन्डसम्म लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
ब्रेनिएक परियोजनाले स्वास्थ्य परीक्षण तथा रोग पहिचानको प्रक्रिया ३० देखि ५० प्रतिशतसम्म छिटो बनाउने र परीक्षणमा सहभागीमध्ये लक्षण देखिनुअघि नै डिमेन्सियाको उच्च जोखिममा रहेका ४० प्रतिशतभन्दा बढी व्यक्तिको पहिचान गर्ने लक्ष्य लिएको छ ।
परियोजनाका उपनिर्देशक तथा एक्सेटर विश्वविद्यालयका क्लिनिकल मनोचिकित्सा प्राध्यापक क्रिस फक्सले डिमेन्सियाको उपचारमा उपलब्ध औषधि तथा प्रविधिले प्रभावकारी रूपमा काम गर्न रोगको प्रारम्भिक चरणमै पहिचान हुनु आवश्यक रहेको बताए ।
उनले बिरामी र स्वास्थ्यकर्मीको आवश्यकतालाई सुरुदेखि नै ध्यानमा राखेर विकास गरिने प्रविधिले एनएचएसलाई ठूलो संख्यामा बिरामीको परीक्षण तथा उपचार गर्न सहयोग पुग्ने बताए ।
यस अनुसन्धानमा क्याम्ब्रिज, अक्सफोर्ड, न्यूक्यासल, स्वान्सी र इम्पेरियल कलेज लन्डनलगायतका विश्वविद्यालय सहभागी हुनेछन् । त्यस्तै, डिमेन्सिया यूके र अल्जाइमर्स सोसाइटीलगायतका संस्थाले पनि सहकार्य गर्नेछन् ।
ब्रेनिएक बेलायतभर सरकारी सहयोगमा सञ्चालन हुन लागेका पाँच नयाँ अनुसन्धान केन्द्रमध्ये एक हो । इन्जिनियरिङ तथा भौतिक विज्ञान अनुसन्धान परिषद्की कार्यकारी अध्यक्ष प्राध्यापक चार्लोट डिनले यी अनुसन्धान केन्द्रहरूले अत्याधुनिक अनुसन्धानलाई व्यावहारिक स्वास्थ्य सेवामा रूपान्तरण गर्दै जनताको जीवनस्तर सुधार्न सहयोग गर्ने बताइन् ।
विश्वविद्यालयका अनुसार परियोजनाअन्तर्गत मस्तिष्कको स्क्यान, आनुवंशिक विवरण, रगतमा पाइने जैविक सूचक (बायोमार्कर) र डिजिटल संज्ञानात्मक परीक्षणबाट प्राप्त तथ्यांकलाई एकीकृत गरी व्यक्तिको मस्तिष्क स्वास्थ्यको समग्र अवस्था देखाउने एआई प्रणाली विकास गरिनेछ ।
छ वर्षे परियोजनाअन्तर्गत पहिलो चरणका क्लिनिक सन् २०२९ देखि सञ्चालनमा आउनेछन् । सुरुमा एनएचएसको सिफारिसमा आउने व्यक्तिहरूले यी क्लिनिकबाट सेवा लिन सक्नेछन् ।
