सुनकाण्डको अनुसन्धानमा ढिलासुस्तीः अरुलाई दोष थुपार्ने झेल कि तस्कर भगाउने चलखेल ?
काठमाडौं, ११ साउन । साउनको पहिलो हप्ता अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पार गरेर सिनामंगल पु¥याइएको करिब एक सय केजी सुन बरामद भएपछि त्यसले विभिन्न खाले आशंका उब्जाइ दिएको छ । हङकङबाट ल्याएर सबै सुरक्षा छल्दै सिनामंगलसम्म पुगेपछि प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागको टोलीले सुन बरामद गरेको हो । विमानस्थलबाट अवैधरुपमा सियोसम्म छिराउन मुस्किल हुन्छ । तर, स्कुटरको ‘ब्रेक सु’ भित्र कभर गरेर ल्याइएको एक सय केजी सुन सहजरुपमा बाहिर आउने कुरा उच्चस्तरीय सेटिङ विना संभव भयो भन्ने कुरा अहिले सामान्य मानिसले पनि पत्याउने अवस्था छैन ।
बुढानीलकण्ठ ठेगाना उल्लेख भएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा आएको त्यति ठूलो परिणामको सुन जाँचपासपछि ट्याक्सीबाट बाहिरिएको अवस्थामा समातिएको कुरा देख्दा जति सहज छ त्यो भन्दा बढी आशंकाहरु कुन तहको सेटिङबाट यो काम भयो भन्ने प्रश्न जटिल बनेको देखिन्छ । अहिलेसम्मको तथ्य अनुसार ‘ब्रेक सु’ भित्र कभर गरेर सुन अवैध रुपमा ल्याएको भन्नेछ ।
ज्याला–मजदुरको थाप्लोमा तस्करको आरोप
गत ३ साउनको मध्यरातमा हङकङबाट ल्याइएको सय केजी भनिएको सुनसँगै राजस्व अनुसन्धान विभागले अवैध सुन ओसारपसारमा संलग्न भएको आरोपमा त्यसैबेला ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल पक्राउ परे । रेडी ट्रेडका मालिक भनिएका २१ वर्षीय भुजेल ६ महिनाअघि मजदुरी गर्न काठमाडौं आएको खुलेको छ ।
त्यसपछि विभागले सुन तस्करीमा संलग्न रहेको आरोपमा भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स–रे प्राविधिक सरोज श्रेष्ठलाई नियन्त्रणमा लियो । त्यसपछि भन्सार एजेन्टहरू रुक्मिला सुब्बा, सुदर्शन गौतम र यादव पराजुलीलाई पनि नियन्त्रणमा लिइएको छ ।
अडुकियाको घर भेट्न एकहप्ता
अझ गज्जब त के–छ भने एक सय केजी सुन तस्करीको आरोपमा विभागले सामान्य व्यक्तिहरुलाई हतारहतारमा समातेर अनुसन्धान सुरु गरे पनि शंकास्पद स्थान र व्यक्तिमाथिको निगरानी र अनुसन्धानमा गरेको ढिलासुस्तीले सेटिङको जालो उच्चस्तरसम्म नै रहेको छ भन्ने आशंकालाई बल थपिदिएको छ । अवैध सुुन समातेको झण्डै एकहप्तापछि मात्रै विभागले विवादास्पद व्यापारी राकेश अडुकियालगायतमाथि अनुसन्धान केन्द्रित गरेको छ ।
हङकङबाट ल्याइएको तस्करीको सुन भारत लैजानमा अडुकियाको भूमिका रहेको आशंका विभिन्न कोणबाट हुने गरेको थियो । नेपालमा सेयर, गाडी, चाँदीलगायतका व्यवसायमा संलग्न अडुकिया टेस्ला गाडीका नेपालका आधिकारिक विक्रेता पनि हुन् । यतिसम्म कि अडुकियाको छोराले तस्करीको सुन बरामद भन्दा केहीसमय अघि हङकङ, भारत र दुबईको शंकास्पद भ्रमण गरेको अनुसन्धानबाट खुलेको विभागले जानकारी दिएको छ ।
गोदाममा छापा, अडुकिया र उनको परिवार कता ?
त्यति मात्रै होइन राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको सुन तस्करीमा संलग्न ‘रेडी ट्रेडर्स प्रालि’ को गोदामा माछापा मार्यो । गोदाममा छापा मारेर विभागले थप ११ सय ६२ थान ब्रेक शु बरामद गर्यो । विभाग स्वयंले प्रारम्भिक परीक्षणमा आधाभन्दा धेरै ब्रेक शु फुक्लिएको पाइएको उल्लेख गरेको छ । विभाग स्वयंले पनि त्यसबाट तस्करले सुन झिकेर लगेको हुनसक्ने अनुमान गरेको छ । यी पछिल्ला दुई घटनाले पनि सुन तस्करीमा माथिल्लो तहकै सेटिङ रहेको अनुमानलाई थप बल पुर्याएको देखिन्छ ।
सियो नछिर्ने विमानस्थलबाट सुन सेटिङ बिना छिर्ला र ?
एकातिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अति सुरक्षित र संवेदनशील ठाउँबाट सुरक्षा र भन्सार जाँच पास गर्दै करिब एक सय केजी सुन बाहिरिएपछि त्यो प्रकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक प्रणाली मात्रै होइन मुलुकको समग्र सुरक्षा संयन्त्रमाथि नै प्रश्न खडा गरिदिएको छ ।
अर्कोतिर यस्तो गतिविधिमा माथिल्लो तहकै सेटिङले मात्रै संभव हुन्छ भन्दै वर्तमान सरकार र त्यसका जिम्मेवार व्यक्तिहरुमाथि नै आशंका बढाई दिएको छ । अहिले सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ भने गृहमन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रकै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनुहुन्छ ।
तर, श्रेष्ठले कमाण्ड सम्हाल्दै आएको गृहमन्त्रालयलाई समेत निरीह बनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन प्रधानमन्त्री मातहतमा रहेको राजस्व अनुसन्धान विभाग जसले प्रधानमन्त्री र गृहमन्त्री दुबैलाई अत्तोपत्तो नै नदिइ बरामद गरिदिन्छ । यी दुबै तथ्यलाई केलाएर हेर्दा पनि विभिन्न खाले आशंकालाई उपत्न गरिदिन्छ ।
सुनकाण्डामा ‘लाहुरे भन्दा गुन्टा पहिला’
‘लाहुरे भन्दा गुन्टा पहिला’ भन्ने नेपालीमा चर्चित भनाई छ । पछिल्लो समयको सुन बरामद काण्ड पनि करीब त्यस्तै देखिएको छ अर्थात यो प्रकरणमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्री निरीह बनेका छन् भने विभागले सुन बरामद गरेर नयाँ तरंग सिर्जना गरिदिएको छ । यो प्रकरणले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलाईमाथि नैतिकताको प्रश्न खडा गरिदिए पनि उहाँहरु लाजै पचाएर ‘माछो देखे दुलोभित्र हात, सर्प देखे दुलो बाहिर हात’को रणनीतिमा लाग्नु भएको छ । त्यसले पनि थप आशंकाहरु पैदा गरिदिएको छ ।
विमानस्थल भनेको यात्रुको आगमन र प्रस्थानमा निकै कडाइ गरिने स्थल हो । त्यहाँको सुरक्षा जाँच कडाइ भएको अवस्थामा कुनै पनि व्यक्तिले त्यहाँबाट सियो पनि बिना जाँच पास ल्याउन वा लैजान सक्दैन । तर, त्यही विमानस्थलबाट १०० केजी हाराहारीको सुन बाहिरिएको जानकारी त्यहाँको सुरक्षा संयन्त्रले थाहा पाएन भन्ने कुरा कसैले पनि पत्याउँदैन । त्यति मात्रै होइन त्यति धेरै मात्राको सुन बाहिर बिना सेटिङ ल्याउने कुरा असम्भव जस्तै हो ।
त्यति ठूलो परिणामको सुन बरामद गर्नु अघि दुई महिनाको वरीपरी २ दर्जन बढी पटक सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको चर्चा चलेको छ । तर, सुशासनको गफ चुटेर नथाक्ने प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीले यो विषयमा देखिएको मौनताले धेरै कुरा शंकास्पद देखाइ दिएको छ ।
सुन बरामद भएको एकहप्तासम्म पनि गहिरो अनुसन्धान नगर्ने, कुनै व्यक्तिको चरित्रहत्या नै गर्ने ढंगले दोष अन्तै देखाएर ध्यान अन्तै मोड्ने जस्ता खेलमा सरकार र सरकारमा संलग्न दकै नेताहरु लागेका हुन कि चर्चा समेत बढ्दै गएको छ । तस्करीमा संलग्नहरुलाई व्यवस्थापनको मौका दिनेसम्मका हर्कतमा सरकारमा संलग्न दलकै नेताहरु लागेको कुरालाई पनि नकार्ने अवस्था अहिलेको घटना क्रमले देखाउँदैन । सुन बरामद भएको हप्तादिन पछि गोदाममा छापा पार्ने कार्यले यो तथ्यलाई थप बलियो बनाइ दिएको छ ।
तथ्य एकातिर समाचार र अनुुसन्धान अर्कैतिर
अहिले एकपछि अर्को गर्दै तथ्यहरु बहिर आइरहेका छन् । यस्तो अवस्थामा आफू निकटका मिडियालाई प्रयोग गरेर ध्यान अन्तै मोड्न र तस्करलाई जोगाउन न्वारानदेखिको बल निकाल्ने हर्कतमा लागेको नेताहरुलाई समेत आशंकाको घेरामा राखेर उनीहरुमाथि पनि अनुसन्धान अघि बढाउनु पर्ने अवाजहरु पनि उठन् थालेका छन् ।
माओवादीकै वरिष्ठ नेता गृहमन्त्री रहेका बेला अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको सुन बरामद हुनुले त्यसको लहरो माओवादी नेताहरुसम्म नपुग्ला भन्न सकिन्न ।
सुन तस्करको प्रकरणमा बालुवाटार निकटकै व्यक्तिहरु संलग्न हुनसक्नेसम्मका आंकलनहरु विभिन्न तहबाट भैरहेका छन् । तर, माओवादीकै एक समूह यो काण्डलाई कमजोर बनाउन नेकपा (एमाले) माथि खनिएको देखिन्छ । सय केजी सुन समातेपछि आत्तिएको सरकार र माओवादीका केही नेताहरुले त एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका रुपमा भारत भ्रमण जानुहुँदा नेपाल चेम्बर अफ कमर्सको उपाध्यक्षको हैसियतमा सँगै जानुभएका व्यवसायी दीपक मल्होत्राको तस्बिर जोडेर यो सुन आयात प्रकरणका मुख्य दोषी नै मल्होत्रा भएको र उहाँको घनिष्ठ सम्बन्ध एमालेसँग भएको भन्ने गलत ढंगले प्रचार गर्ने र मिडियालाई प्रयोग गर्नेसम्मका हर्कत गरेको देखियो । त्यसले पनि यो काण्डमा माओवादीकै नेताहरुको संलग्नता नहोला भन्न सकिन्न ।
बाउछोरालाई छैन अनुसन्धान, निर्दोषमाथि किन गनगन ?
त्योसँगै केही दिनदेखि माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा र महराका छोरालाई जोडेर सुनकाण्डको विषय चर्चामा आइरहेका बेला सय किलो सुनकाण्डको विषय आउनुले पनि यो विषय माओवादीका नेताहरुसँग नजोडिएको होला भनिहाल्ने अवस्था छैन ।
माओवादी निकटकै केही सञ्चारमाध्ययमले समेत घुमौरोपाराले मल्होत्रालाई दोषी देखाउनु र माओवादी निकटका व्यक्तिहरुले मल्होत्रालाई ओलीसँग जोडेर कुप्रचार गर्नुले पनि कतै त्यसमा पनि माओवादी नेताहरुकै रणनीति त होइन ? भन्ने आशंका पनि उत्पन्न गराइदिएको छ ।
काँक्रा आफूले चोरेर बियाँ अरुको गालामा टाँसिदिने उखान जस्तै अहिले एमाले अध्यक्ष ओलीसँग मल्होत्राको तस्बिर देखाएर दोष एमालेलाई लगाउने र त्यस्तो गम्भीर घटनालाई ढाकछोप गर्ने, मुख्य तस्करलाइै जोगाउने र आफूहरुलाई पानीमाथिको ओभानु देखाउने हर्कत माओवादीकै कित्ताबाट भैरहेको त छैन भन्ने आशंका पनि उत्पन्न भएका छन् ।
नियम अनुसार सुनचाँदी व्यवसायीले बैंकबाट सुन किनेर सर्वसाधारणलाई किनबेच गर्नुपर्छ । तर, लामो समयदेखि सुन–चाँदी पसलेहरुले बैंकबाट सुन किन्ने क्रम घट्दो क्रममा रहेको देखिन्छ । व्यापारीहरुले सुनको व्यापार घटेको भने पनि विभिन्न सुन पसलमा देखिने भीडले त्यो कुरालाई गलत सावित गरिदिन्छ ।
सुन तस्करी प्रकरणको उच्चस्तरीय समिति गठन गरी छानविन गर्न एमालेको माग, रास्वपाको सार्वजनिक महत्वको प्रस्ताव
नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको उच्चस्तरीय विशेष समिति बनाई छानविन गर्नुपर्ने भन्दै प्रतिनिधि सभाको बुधबारको बैठकमा गृहमन्त्रीको राजीनामा र समिति गठनको माग गरेको छ । बुधबारको प्रतिनिधि सभाको बैठक अघि पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने र उच्चस्तरीय समिति गठन गरी निष्पक्ष छानविन हुनुपर्ने निर्णय गरेको थियो ।
अध्यक्ष ओलीले दलको बैठकमा सम्बोधन गर्दै सत्ता गठबन्धनले देश लुट्न खोजिरहेको हुँदा अब नेकपा (एमाले) चुप लागेर नबस्ने वताउनुभएको थियो । अध्यक्ष ओलीले पछिल्लो एक क्विन्टलभन्दा बढी सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता रहेको बताउँदै सरकारका मन्त्रीहरूको संलग्नताबिना त्यति ठूलो परिमाणमा सुन तस्करी हुन नसक्ने धारणा व्यक्त गर्नुभएको थियो ।
बैठकले पछिल्लो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै उहाँ पदमा बस्न योग्य नरहेको निष्कर्ष निकालेको छ । गृहमन्त्रीको संलग्नताबिना यति ठूलो परिमाणको सुन तस्कारीको सम्भावना नरहेको एमालेको ठहर छ ।
त्यसपछि बसेको प्रतिनिधि सभाको बैठकमा सुन तस्कारी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै नेकपा (एमाले) ले बैठक अवरूद्व गर्दै आएको छ । बैठकमा दलका धारणा राख्दै नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणको जरोसम्म छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवैध सुन आयात प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेको छ ।
सुन पसलसम्म नै होला त मिलेमतो ?
एकातिर सुनको तस्करी बढ्नु, अर्कोतिर व्यपारीहरुले सुनको व्यापार घटेको बाहना गर्नु र पसलमा भीडभाड कम नदेखिनुले पनि तस्करीका सुन यतै खपत भैरहेको त छैन भन्ने आशंकालाई समेत बल पुर्याको देखिन्छ । अहिले पनि सर्वसाधारण सुुन पसलमा सुन किन्न गए भने सुनको अभाव भन्दै व्यपारीले केही हजार महंगोमा वेच्ने र सुन वेच्न जाँदा केही हजार कममा खरिद गर्ने गरेको देखिन्छ । यो पनि एक हिसावले भन्ने हो भने तस्करीकै एक रुप हो । यस्तो विषयमा समेत सरकारले आँखा चिम्लेर बस्नु भनेको सुन तस्करीलाई मौलाउन दिनुमा सरकारकै हात त छैन भन्ने आशंकालाई पनि बलियो बनाएको छ ।