इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले पूर्वाधार निर्माणमा अवरोध: लागत समायोजनका लागि व्यवसायीको माग

काठमाडौँ, जेठ १ । लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर सङ्कटमा परेको जनाएको छ ।

सङ्घका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागतमा भएको अत्यधिक वृद्धिका कारण निर्माण कार्यहरू नराम्ररी प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार डिजेल, बिटुमिन, फलाम, र सिमेन्ट लगायतका सामग्रीको मूल्यका साथै ढुवानी खर्च र श्रमिकको पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुराना दररेटमा आयोजनाहरू सम्पन्न गर्न असम्भवप्रायः भएको छ ।

अध्यक्ष बेल्वासेले इन्धन र बिटुमिनको अकासिएको मूल्यले निर्माण व्यवसायीहरूमाथि ठूलो आर्थिक दबाब सिर्जना गरेको उल्लेख गर्नुभयो। निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले यसको असर समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत देखिन थालेको उहाँको भनाइ छ ।

समयसापेक्ष लागत समायोजन हुन नसक्दा निर्माण व्यवसायी, श्रमिक र विकास आयोजनाहरू सबै प्रत्यक्ष मारमा परेका छन्। सरकारले समयमै मूल्य समायोजन नगरे विकास निर्माणका कार्यहरू ठप्प हुन सक्ने चेतावनी दिँदै सङ्घले बैंक ग्यारेन्टी, बिमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गरिदिन सरकारसँग विशेष आग्रह गरेको छ ।