कावासोतीको मकैबारीमा वयस्क भाले गैँडा मृत फेला
कावासोती, १ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–१, लोकहा स्याउलीमा एक वयस्क भाले गैँडा मृत फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत अवस्थामा भेटिएको हो।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार, मृत भेटिएको गैँडा वयस्क उमेरको हो। गैँडाको शरीरमा कुनै बाहिरी चोटपटक नदेखिएको र उसको बहुमूल्य अङ्ग खाग तथा खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो।
खाग र खुर सुरक्षित फेला परेकाले यो चोरी–सिकारीको घटना नभएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, स्वस्थ देखिने गैँडाको अचानक मृत्यु कसरी भयो भन्नेबारे वन कार्यालय र निकुञ्ज प्रशासनले अनुसन्धान सुरु गरेको छ।
गैँडाको शव परीक्षण (पोस्टमार्टम) पछि मात्र मृत्युको वास्तविक कारण खुल्ने डिभिजन वन कार्यालयले जनाएको छ। वन टोलीले अहिले घटनास्थलको मुचुल्का उठाउने र थप कानुनी प्रक्रिया अघि बढाउने कार्य गरिरहेको छ।