कोशी सरकारको नेतृत्व सम्हाल्दै हिक्मत कार्की
विराटनगर । सर्वोच्च अदालतको फैसलासंगै कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै कार्यभार सम्हाल्दै हुनुहुन्छ ।
अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली हुनुभएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीका रूपमा पुन: कार्यभार सम्हाल्न लाग्नुभएकाे हाे ।
सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरलाई गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरेपछि कार्की निवर्तमान हुनुभएकाे थियाे ।
सर्वोच्च अदालतको बिहीबारको फैसलाले थापाको नियुक्ति असंवैधानिक भन्दै नियुत्ति बदर गरेपछि अर्को सरकार गठन नभएसम्मका लागि कार्की काम चलाउ सरकारको मुख्यमन्त्रीका रूपमा पुनर्वहाली हुनुभएकाे हाे ।
न्यायाधीश ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्ने सबै निर्णय बदर गर्दै एक साताभित्र नयाँ सरकार गठनका लागि आदेश दिनुभएकाे छ ।
एमाले संसदीय दलका नेतासमेत रहनुभएका कार्कीले असार २२ गते सरकार गठन प्रक्रिया असंवैधानिध भएको भन्दै बदरको मागसहित रिट निवेदन दिनुभएकाे थियाे ।