महिनाको एक दिन श्रमदान गर्दै हतुवागढी
भोजपुर, १४ साउन । भोजपुरकाे हतुवागढी गाउँपालिकाले महिनाकाे एक दिन अभियान सञ्चालन गरेकाे छ ।
गाउँपालिकाले गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपीलगायतका चार सय ५० बिरुवा रोपिएको हो ।
प्रत्येक महिनाको एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा एक दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ ।
“श्रमदान अभियान सञ्चालन गरेर यहाँको पर्यटकीय क्षेत्रमा चार सय बढी बिरुवा रोप्ने काम सम्पन्न गरेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौँ । अब महिनामा एक दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गछौँ ।”
अभियानको यहाँ निर्माण भइरहेको पदमार्गलाई लक्षित गरेर सुरुआत गरिएको उहाँको भनाइ छ । पैदलमार्गमा पर्यटकलाई आकर्षित गर्ने खालका बिरुवा रोपिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।
“घोडेटार, जोर आहाल सङ्खाम, दिमालुङ पैदलमार्ग हाम्रो गौरवको योजनाका रूपमा रहेको छ”, उहाँले भन्नुभयो, “यसलाई यहाँको मुख्य पर्यटकीय पदमार्गका रूपमा स्थापित गर्ने लक्ष्य छ । पर्यटकलाई लक्षित गरेर विभिन्न जातका ‘अर्नामेन्ट प्लान्ट’ रोपेका छौँ ।”
पदमार्गलाई वडा नं ३ मा करिब १४ रोपनी क्षेत्रमा निर्माण भइरहेको दिमालुङ स्मारक उद्यान र त्यही नजिकै वडा नं २ मा रहेको करिब ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ उद्यानसम्म विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
श्रमदान अभियानमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सुनिता किराती, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णकुमार लिम्बू, सम्पूर्ण वडाका वडाध्यक्ष, टोल विकास संस्था, गाउँपालिकाका कर्मचारी, स्थानीयवासीलगायतले श्रमदान गरेका हुन् ।