नेवाः समुदायलाई मनमोहन अस्पतालमा छुट दिने सम्झौता

काठमाडौं, १६ साउन । नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू र स्वयम्भू पछाडिस्थित मनमोहन मेडिकल कलेज (अस्पताल) बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । नेवाः देय् दबूका पदाधिकारी लगायत देय् दबूको सिफारिस लिएर आएका विरामीहरूलाई अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।

सम्झौतामा नेवाः देय् दबूका पदाधिकारी, सदस्य वा देय् दबूको सिफारिस लिएर आउने विरामीहरूलाई अस्पतालले प्रदान गर्दै आइरहेको विभिन्न स्वास्थ्य सेवा एवं उपचारमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।

सम्झौतामा उल्लेख गरिए अनुसार अस्पतालले सामान्य शैय्या, ल्याब परीक्षण, एक्सरे, भिडियो एक्सरे जस्ता सेवामा १५ प्रतिशत छुट दिनेछ भने जनरल क्याबिन, आईसीयू, भेन्टिलेटर, ईको, मेमोग्राम, फिजियोथेरापी जस्ता सेवामा १० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।

सम्झौतापत्रमा मनमोहन अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. एन. शर्मा, प्रबन्ध निर्देशक डा. मुजः श्रेष्ठ र मेडिकल डाइरेक्टर निराजन सुवेदीले हस्ताक्षर गर्नुभएको छ भने देय् दबूका तर्फबाट अध्यक्ष पवित्र वज्राचार्य, केन्द्रीय महासचिव सत्यनारायण डंगोल र केन्द्रीय पार्षद डा. अन्जना डंगोलले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सेवाको लागि सम्पर्क व्यक्तिका रुपमा नेवाः ल्याय्म्ह दबूका अध्यक्ष सुदन मुनिकारलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *