‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

इन्टरनेट सेवा

काठमाडौँ,  असोज २४ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ । इन्टरनेट सेवाको शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्ताव प्राप्त नभएको र शुल्क बढाउन स्वीकृतिसमेत नदिइएको स्पष्ट पारेको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने जनाएको छ । प्राधिकरणको निर्देशिकाअनुसार शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था रहेको प्राधिकरणले स्मरण गराएको छ ।

प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उसले पूर्वस्वीकृतिबिना शुल्क वृद्धि गर्न तथा स्वीकृत दरभन्दा बढी रकम लिन नपाइने जनाएको छ ।

त्यस्तै, उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने स्पष्ट पार्दै प्राधिकरणले नियमविपरीत गतिविधि गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

प्राधिकरणले उपभोक्तालाई स्वीकृत शुल्क दरअनुसार मात्रै सेवा शुल्क भुक्तानी गर्न तथा तोकिएको दरभन्दा बढी शुल्क लिइएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *