श्रमदानमार्फत गाउँ विकासमा जुटे भोजपुरका लेखर्कवासी
भोजपुर, २१ साउन । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् ।
वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका छन् । सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदान गरेर बाटो मर्मत गर्ने, पर्खाल लगाउने, सडकको नाली कटाउनेलगायतका काम गरिरहेको स्थानीयवासी टङ्क घिमिरेले बताउनुभयो ।
“आफ्नो ठाउँ कस्तो बनाउने भन्नेमा स्थानीयको ठूलो भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “हामीमा सानो काम पनि राज्यले नै गरिदिन्छ भन्ने सोच छ । तर त्यस्तो होइन । हामीले यस्ता साना काम गर्न सक्यौँ भने राज्यको निकै ठूलो लगानी बच्छ । हामीले यही सोचको साथ गाउँको विकासमा श्रमदान गरिरहेका छौँ ।”
श्रमदानमार्फत कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खालसँगै यहाँको ऐतिहासिक पाँचधारे पोखरी आसपासमा वृक्षरोपण गरेको वडाध्यक्ष नभराज माङ्पाहाङ्गले जानकारी दिनुभयो । त्यस्तै बाढीको कारण निकै ठूलो क्षति पुगेको राउते खोलामा पनि श्रमदानमार्फत सडक सोलिङ गरेको अध्यक्ष माङ्पाहाङ्गको भनाइ छ ।
यो ठाउँको ठूलो पहिरो गाउँपालिकाले जेसिबी लगाएर हटाएरपछि स्थानीयले श्रमदानबाट सोलिङ गरेको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिनुभयो । “स्थानीय तहमा आएको बजेटले सबै काम गर्न सम्भव छैन”, वडाध्यक्ष माङ्पाहाङ्गले भन्नुभयो, “प्राकृतिक विपत्तिका कारण सयौँ ठाउँमा सडक बिग्रिएको अवस्था छ । सडक बिग्रेका कारण समस्या भएपछि हामी श्रमदानमार्फत विकासमा जुटेका छौँ ।”
यहाँको पाँचधारे पोखरीको आसपासको सरसफाइसँगै चाँप, लालीगुराँस, विभिन्न जातका फूल र पानीको मुहान नसुकोस् भन्नका लागि यहाँ वनकेराको बिरुवा रोपिएको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिनुभयो ।