निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

काठमाडौँ, कार्तिक २८ । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो ।

भवन प्राप्त भएसँगै स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको विश्वविद्यालयले आफ्नै शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्ने पूर्वाधार प्राप्त गरेको छ ।

विश्वविद्यालय र निधि भवन दुवैको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शनिबार भवनको अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले भवन हस्तान्तरणले विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुवै संस्थालाई एउटै छातामुनि राख्ने आफ्नो चाहना पूरा भएको उल्लेख गर्दै भवन हस्तान्तरणको निर्णय गर्ने सङ्घीय सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

विश्वविद्यालयले भवनलाई शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनका साथै मिथिला कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा उपयोग गर्ने जनाएको छ । चालु वर्ष भवनमा तीनवटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत गरिएको विश्वविद्यालयले जनाएको छ ।

अत्याधुनिक सभाहल र दुईतले प्रशासनिक भवनलगायतका भौतिक संरचना रहेको निधि भवन विश्वविद्यालयको संस्थागत विकास र शैक्षिक गतिविधि विस्तारका लागि महत्वपूर्ण पूर्वाधार बन्ने अपेक्षा गरिएको छ । यसबाट विश्वविद्यालयलाई आफ्नै भवनबाट शैक्षिक तथा प्रशासनिक सेवा सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *