वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगितामा क्षितिज, सिन्दिरा, राजीव र पदमकृष्ण विधागत विजेता
काठमाडौँ, कात्तिक २८ । क्षितिज भण्डारी, सिन्दिरा जोशी, राजीव कार्की र पदमकृष्ण श्रेष्ठ प्रथम वडाध्यक्ष कप अल नेपाल फिडे र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता २०८३ का विभिन्न विधामा विजेता बन्नुभएको छ ।
काठमाडौँ महानगरपालिका २८ को आयोजना तथा थापाथली पार्क चेस क्लबको सहआयोजनामा बागबजारस्थित सहिद शुक्र माध्यमिक विद्यालयमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भण्डारीले १९०० भन्दा माथिको रेटिङ (क्याटागोरी ए), जोशीले महिला खुला, कार्कीले १७०० देखि १८९९ रेटिङ (क्याटागोरी सी) तथा श्रेष्ठले १७०० मुनि र अनरेटेड विधाको उपाधि जित्नुभएको हो ।
प्रतियोगिताको क्याटागोरी एमा सुशील चौधरी दोस्रो र कमल श्रेष्ठ तेस्रो हुनुभयो । महिला खुलातर्फ राधिका पौडेल दोस्रो र कुसुम घिसिङ तेस्रो हुनुभयो । त्यसैगरी क्याटागोरी सीमा महेन्द्रकुमार साम्बाहाम्फे र सन्देश श्रेष्ठ तथा क्याटागोरी डीमा विनय थापा र सुदिन नेपाल क्रमशः दोस्रो र तेस्रो हुनुभयो ।
प्रतियोगिताको समापन समारोहमा वडाध्यक्ष भाइराम खड्गीले विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुने खेलाडीलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगितामा विभिन्न उमेर समूहका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिएको थियो । १० वर्षमुनिको उमेर समूहमा महिलातर्फ शुभाषिनी श्रेष्ठ र पुरुषतर्फ प्रसुन मल्ल, १२ वर्षमुनिमा महिलातर्फ ओजस्वी श्रेष्ठ र पुरुषतर्फ वचन सिलवाल तथा १४ वर्षमुनिमा महिलातर्फ शुभेच्छा घिमिरे र पुरुषतर्फ प्रतीक ढुङ्गेल उत्कृष्ट घोषित हुनुभयो ।
त्यस्तै, अनरेटेड विधामा महिलातर्फ सुहानी सिंह र पुरुषतर्फ रिजन अवाछा उत्कृष्ट हुनुभयो । वेस्ट इलो २००० विधामा सुभानदीप थापा र वेस्ट इलो १८०० विधामा आदर्श रिजाल पुरस्कृत हुनुभयो ।
वडा नं. २८ ले आयोजना गरेको प्रतियोगितामा ताप्लेजुङ, पाँचथर, चितवन, सर्लाही, दोलखा, सङ्खुवासभा, कञ्चनपुर र पर्सालगायत जिल्लाबाट ९४ खेलाडी सहभागी भएका थिए ।
समापन समारोहमा वडाध्यक्ष खड्गीले खेलाडीको उत्साहजनक सहभागिता र बुद्धिचालप्रतिको बढ्दो आकर्षणले प्रतियोगितालाई निरन्तरता दिन आफू उत्साहित भएको बताउनुभयो । वडाले आयोजना गर्ने युवा लक्षित कार्यक्रममा राम्रो सहभागिता हुने गरेको उल्लेख गर्दै उहाँले बुद्धिचाल प्रतियोगितामा पनि अपेक्षाभन्दा राम्रो सहभागिता पाएको बताउनुभयो ।
कार्यक्रमका निर्देशक इन्द्रकुमार बस्नेतले बुद्धिचाल खेलले रणनीतिक सोच, अनुशासन र जीवन जिउने सीप विकासमा सहयोग पुर्याउने बताउनुभयो । प्रतियोगिता आयोजना गर्नुको उद्देश्य खेल सञ्चालनमा मात्र सीमित नभई समुदायस्तरमा बुद्धिचालको विस्तार गरी नयाँ खेलाडी उत्पादन गर्नु रहेको उहाँको भनाइ थियो ।
थापाथली पार्क चेस क्लबका अध्यक्ष सानुराम बज्राचार्यले बुद्धिचाल खेलको विकासका लागि सञ्चालन हुने एकेडेमी व्यावसायिक उद्देश्यभन्दा माथि उठेर खेल प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
बुद्धिचालका पूर्वनेपाल च्याम्पियन नवीन तण्डुकारले पछिल्लो ४० वर्षको तुलनामा यस वर्ष धेरै प्रतियोगिता आयोजना हुनु सकारात्मक भएको बताउँदै यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके बुद्धिचाल खेलको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आर्बिटर ज्ञानेन्द्र खाइजूले विश्वमा सबैभन्दा धेरै प्रतियोगिता आयोजना हुने खेलमध्ये बुद्धिचाल पनि एक रहेको उल्लेख गर्दै यससँग सम्बन्धित पुस्तक प्रकाशनसमेत व्यापक रहेको बताउनुभयो ।
