लुम्बिनीसँग हार बेहाेर्दै विराटनगर प्लेअफ दौडबाट बाहिरियो, अन्तिम चार टोलीको टुङ्गो

काठमाडौँ, २८ कात्तिक । विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफ दौडबाट बाहिरिएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगरको यात्रा लिग चरणमै समाप्त भएको हो।

योसँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन्।

पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्सको यात्रा भने लिग चरणबाटै सकिएको छ। विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा ओपनर डार्सी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए।

त्यस्तै, अलि शेखले २७ तथा सन्दीप जोराले अविजित २५ रनको योगदान दिए। ११ बल खेलेका जोराले तीन छक्का र एक चौका प्रहार गरे। अन्तिम ओभरमा रुवेन ट्रम्पलमानले छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए।

बलिङतर्फ विराटनगरका अपराजित पौडेलले दुई तथा चरिथ असलंका र रुपेश सिंहले एक–एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको थियो।

विराटनगरका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ६ छक्का र एक चौका प्रहार गरे। शुभम रञ्जानेले अविजित ३१ तथा इमरान शेखले २४ रन बनाए। शेख रिटायर्ड हर्ट भएका थिए भने लोकेश बमले १५ रन जोडे। लुम्बिनीका किशोर महतोले दुई तथा अभिषेक गौतम र रुवेन ट्रम्पलमानले एक–एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *