एमालेसँग नीतिगत सवालमा भिन्नता देखाउन सकेनौँ, हाम्रा कार्यकर्ताको रोजाइ उतै भयो (दस्तावेजसहित)
काठमाडौं, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी समाजवादीमा एकपछि अर्को गर्दे जिम्मेवार नेताहरु नै नेकपा (एमाले) तिर फर्किन थालेपछि सो पार्टीमा असन्तुष्टिको लहर बढ्न थालेको छ । पछिल्लो समय विभिन्न जिल्लाको नेतृत्व नै एमालेमा समाहित हुन थालेपछि समाजवादीका शीर्ष नेताहरु समेत झस्किन थालेका छन् । समाजवादीको स्थायी कमिटी बैठकमा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै त्यसलाई थप पुष्टि गरिदिनुभएको छ ।
उहाँले प्रस्तुत गरेको दस्तावेजमा एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको भन्दै पार्टी नेतृत्वको आलोचना गर्नुभएको छ । उहाँले नेकपा एस र विद्रोह गरिएको पार्टी (एमाले)का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ देखाउन नसकिएको भन्दै अहिले एस पार्टी छाड्नेको लर्को त्यसैको संकेत भएको उल्लेख गर्नुभएको छ । ‘हाम्रो पार्टीमा पनि जबज कै धबधबी छ र (एमाले)मा पनि जबज कै धबधबी छ ।
त्यसले गर्दा पनि ठुलो संख्यामा विद्रोह गरेर अघि आएका नेता कार्यकर्ताहरु वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ । किन यस्तो भइरहेको छ ?,’ उहाँले भन्नुभएको छ, ‘हामी भित्र कहाँ कमजोरी छ ?कुन कमजोरीका कारणले यस्तो भइरहेको छ ? हामीले यी सम्पुर्ण कमी–कमजोरीहरुलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरुलाई निर्ममता पुर्वक हटाउनुपर्छ, बैचारिक तथा संगठनात्मक दुबै क्षेत्रबाट यस्ता कमजोरीहरुलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, संशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ ।’
उहाँले प्रधान अन्र्तविरोध र प्रधान प्रतिद्धन्दीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउदै अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ । त्यसो भयो भने मात्रै पार्टी पंक्तिमा नयाँ उत्साह, उमङ्ग र जोसको संचार हुने उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाटै धोका खाएको पनि उल्लेख गर्नुभएको छ । ‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो,’ उहाँले भन्नुभएको छ, ‘कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो ।’ Jhalanath Khanal Doc