कोञ्ज्योसोमका भूमिहीनले निस्सा पाए
ललितपुर, २३ साउन । ललितपुरकाे कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले निस्सा वितरण गरेको छ ।
वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा आयोग जिल्ला समितिले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा निस्सा वितरण गरिएको हो ।
राष्ट्रिय भूमि आयोगका ललितपुर जिल्ला संयोजक श्रीगोविन्द महर्जनले भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या नरहेको बताउनुभयो । “स्थानीय तहबाट पर्याप्त सहयोग र समन्वय भएको अवस्थामा भूमिहीन तथा सुकुम्बासीलाई जग्गा वितरण गर्न कुनै समस्या छैन । हाम्रो वर्तमान संवैधानिक व्यवस्था र सरकारको नीतिअनुरुप योग्य रहेका सबै सुकुम्बासीलाई प्रक्रिया पुर्याएर निस्सा वितरण गर्न हामी तयार छौँ”, उहाँले भन्नुभयो ।
कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले पालिकाभित्रका सबै सुकुम्वासी, भूमिहीनलाई जग्गा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरसँग समन्वय गरेर चाँडै टुङ्गोमा पुर्याउने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष राजनप्रसाद घिमिरेले निस्सा वितरणसँगै लामो समयदेखि सुकुम्बासी भएर रहेकाको समस्या समाधान हुने पक्का भएको बताउनुभयो । उहाँले छिट्टै लालपुर्जा वितरण भएर पालिकाभित्र सुकुम्बासी र भूमिहीनमुक्त नागरिक भएको देख्न पाइने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार अब गोदावरी नगरपालिकाका बाँकी १२ वडा र महाँकाल गाउँपालिकाका सुकुम्बासी र भूमिहीनलाई निस्सा वितरण गर्ने गरी तयारी भइरहेको छ ।
आयोग जिल्ला समितिले यसअघि २०८० जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ परिवार, असार ३१ गते गोदावरी–७ देवीचौरका १४ परिवार र साउन १२ गते गोदावरी–१२ का पाँच परिवारलाई निस्सा वितरण गरिसकेको छ ।