संखुवासभा दुई कैदी मृत्यु प्रकरणमा प्रहरीले नियन्त्रणमा लियाे ९ कैदी
संखुवासभा, २४ साउन । संखुवासभाकाे जिल्ला कारागारमा भएकाे दुई कैदी मृत्यु घटनामा प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो घटनामा संलग्नता देखिएपछि आरोपित ९ कैदीलाई नियन्त्रणमा लिएर छुट्टै स्थानमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जनाएकाे छ ।
बुधबार बिहान २ बजे जेलबाट भाग्न लागेका दुई कैदीबन्दी संखुवासभा मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामी कारागारभित्र अचेत अवस्थामा फेला परेकाे र उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो।
उक्त घटनापछि कैदीबन्दीहरूले नै आरोप लगाएका ९ जनालाई नियन्त्रणमा लिइएको कार्कीले बताउनुुभयाे ।कैदीबन्दीहरूकै आरोपका आधारमा ९ जनालाई नियन्त्रणमा लिएर छुट्टै स्थानमा राखेकाे प्रहरीकाे भनाइ छ ।
प्रहरीका अनुसार दुई जना कैदी बुधबार बिहान २ बजेतिर जेलबाट भाग्ने प्रयास गरेका थिए। उनीहरू शौचालयको झ्यालको फलामकाे डण्डी काटेर भाग्न लागेका थिए। उनीहरूले भाग्ने प्रयास गरेको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएर पुन: कारागारभित्र राखेको थियो।
बिहान भने उनीहरू दुबै जना अचेत फेला परेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई जिल्ला अस्पताल पुर्याइएको थियो।उपचारका क्रममा उनीहरू दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे नेतृत्वको छानबिन समिति बनाएको छ।
मृतक तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए।
उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए।