काठमाडौंको मुटु भोटाहिटीमा आगलागी
काठमाडौं, २६ साउन । काठमाडौंको मुटुमै रहेको कामपा वडा नं. २७ को भोटाहिटीस्थित एक घरमा गए राति आगलागी भई सोही घरमा रहेको भाँडाकुँडा भण्डार क्षति भएको छ ।
स्थानीय मथुराम श्रेष्ठको घरको पाँचौ र छैठौ तल्लामा उक्त आगलागी भएको हो । सो ठाउँमा रौतहटका महम्मद सम्सादको स्टिलका भाँडाकुँडाको गोदाम राखिएको थियो ।
राति अचानक बिजुली शर्ट भई उक्त आगलागी भएको अनुमान गरिएको छ । आगलागीमा परी स्टिलका धेरै सामान लगायत ग्याँस चुलो र अन्य सामान क्षति भएको थियो ।

राति करिब ७ः३० बजे शुरु भएको उक्त आगो नियन्त्रण गर्न न्यूरोडस्थित जुद्ध वारुणयन्त्रको चार लगायत नेपाली सेना, ललितपुर र भक्तपुरका समेत गरी सात दमकल खटिएको थियो । राति १० बजे आगो नियन्त्रण भए पनि राति ११ बजे मात्रै सबै दमकलहरू फर्किएका थिए ।
जुद्ध वारुणयन्त्रका प्रमुख प्रकाश पण्डितले दिनुभएको जानकारी अनुसार आगलानी नियन्त्रण गर्न नेपाली सेनाका ३५, सशस्त्र प्रहरीका ४० र नेपाल प्रहरीका ५० सुरक्षाकर्मी खटिएका थिए । हनुमानढोका दरवारस्थित शार्दूल जंग गुल्मका गुल्मपति पूर्ण प्रजापतिको नेतृत्वमा सैनिक जवानहरू उक्त कार्यमा खटिएका थिए ।

आगलागीबाट धेरै धनमाल नष्ट भए पनि मानवीय क्षति भने नभएको बताइएको छ । गुचमुच्च परेका धेरै घरहरूका बीच रातको समयमा आगलागी भएकाले सो क्षेत्रमा आतंक मच्चिएको थियो । आगो लाग्ने बित्तिकै सो क्षेत्रमा बिजुली लाइन काटिएको थियो ।

