के टुकुचा कहाँ छ भनेर बालेनले हामीलाई देखाउनु पर्छ र ?ः हरिप्रभा
काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका पूर्व उपप्रमुख एवं बागमती प्रदेशका वर्तमान सांसद हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौं महानगरपालिकाको वर्तमान नेतृत्वले अहिले जसरी काम गरिरहेको छ, त्यो त्यसरी नै बढ्दै गयो भने काठमाडौंमा ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘काठमाडौंमा पहिले हामी हुँदा जे जति काम गरेका थियौँ, त्यो जम्मै बालेनले गरेको भनेर प्रचार गरिरहेको छ । हुँदा हुँदा अब त कमल पोखरी समेत बालेनले बनाएको भनेर प्रचार छ । भन्नलाई अलि लाज त हुनुपर्ने हो नि ।’
‘काठमाडौंमा टुकुचा कहाँ छ भनेर हामीलाई थाहा थिएन र ? सामाखुसि कहाँ छ भनेर हामीलाई थाहा छैन र ? राणाकालमै बन्द गरेर व्यवस्थित भइसकेको टुकुचा खोलेर कल्लाई देखाउन खोजेको ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘अहिले त काठमाडौंको अवस्था भयावह छ । महानगरपालिकाको वर्तमान नेतृत्व यसरी नै अघि बढिरहने हो भने ठूलो दुर्घटना हुन सक्छ ।’
सोही अवसरमा काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले पनि आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिकाभित्र धेरै सम्पदाहरूको पुनर्निर्माण र जीर्णोद्धार भएको उल्लेख गर्नुभयो ।
शनिवार राजधानीमा आयोजित एक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँहरूले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा कामपा वडा १८ स्थित किलागल टोलका गुरु स्व. इन्द्र महर्जनको स्मृति ग्रन्थ विमोचन गरिएको थियो ।
इन्द्र महर्जन इन्द्रजात्राका बेला काठमाडौंको किलागल टोलबाट निकालिने प्रशिद्ध दीप्याखंका प्रमुख गुरु हुनुहुन्थ्यो । साथै उहाँ किलागल टोलका प्रमुख बाजा गुरु पनि हुनुहुन्थ्यो । उहाँकै स्मरणमा ‘ज्यापु संस्कृतिका धरोहर गुरु इन्द्र महर्जन समय सन्दर्भ’ नामक स्मृति ग्रन्थ प्रकाशन गरिएको थियो ।
पुस्तक प्रकाशन समूहका अध्यक्ष जुजुभाइ डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा सांसदहरू विराजभक्त श्रेष्ठ, शैलेन्द्र वज्राचार्य, पूर्व मन्त्री जीवनराम श्रेष्ठ लगायत प्रा.डा. त्रिरत्न मानन्धर, डा. चुन्दा वज्राचार्य, डा. पंच महर्जन, डा. चन्द्रमान वज्राचार्य, प्रकाश दर्नाल, भोलाकुमार श्रेष्ठ, पुष्कर माथेमा आदिले पनि विमोचित पुस्तक र गुरु इन्द्र महर्जनको योगदानबारे प्रकाश पार्नुभएको थियो ।
