प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं, ६ भदौँ । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएकोे जानकारी दिनुभयो । आन्तरिक उडान रोकिए पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र पोखरा–नेपालगञ्जको सबै उडान रद्द गरिएको छ ।

काठमाडौँ–पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि केहीबेर अघिदेखि पुनः उडान सञ्चालन गरिएको उहाँको भनाइ थियो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *