घिन्ताङघिसी ट्वाक् गर्दै भक्तपुरमा गाईजात्रा

भक्तपुर, १४ भदौ । भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ । बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।
यो वर्ष तिथि गडबडीका कारण काठमाडौंमा भोलि मात्रै गाईजात्रा मनाउने भए पछि भक्तपुरमा भने आजै सायाः निकाली गाईजात्रा मनाइएको थियो । जनैपूर्णिमा भने हिजै मनाइसकेको छ ।

गाईजात्रा पर्वको अवसरमा भक्तपुर जिल्लाभर नेवार समुदायले आज बिहानैदेखि टोलटोलबाट गाई निकालेर घिन्ताङ्घिसी नाच प्रदर्शन गर्दै गाईजात्रा मनाएका हुन् ।
दिवङ्गत व्यक्तिको सम्झनामा आजदेखि नेवार समुदायमा घरघरबाट गाईजात्रा निकाल्ने परम्परा रहेको छ भने यसअन्तर्गत जात्राका दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । आज दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।
‘घिनिताङ घिनिताङ घिन्ताङघिसी त्वाङ’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचको आकर्षण जात्रामा देखिन्छ । केही वर्षयता घिन्ताङघिसी नाचमा विदेशी पर्यटकको पनि बाक्लो सहभागिता हुँदै आएको छ ।

घिन्ताङघिसी नाचसँगै हनुमान नाच, जङ्गल नाच र माकः प्याखं अर्थात् बाँदर नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ । यसका साथै लाखे नाच, भैरव नाचलगायत देवीदेवताका नाच समेत प्रदर्शन गरिएको छ ।
आर्थिक अवस्था कमजोर हुनेले पनि कुमार–कुमारी बनाएर घुमाउने तथा जिउँदो गाई मात्रै भए पनि घुमाउने परम्परा रहेको छ । विभिन्न घरबाट निकालिएको जात्रा दरबार स्क्वायर, वालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठडाँै, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गरिन्छ ।
जात्रा समापनका क्रममा तौमढीबाट साँझ परालबाट बनेको तमाचा र त्यससँगै भैरव नाचसमेत निकालिन्छ । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य तमाचा र सबभन्दा पछि नकिं अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी लाय्कूमा तीनपटक परिक्रमा गरेपछि आजको जात्रा समापन गरिन्छ ।
सात दिनसम्म मनाइने गाईजात्रामा भोलिदेखि घिंताङ घिसीनाच र व्यंग्य प्रस्तुत गरेर गाईजात्रा मनाइन्छ ।
श्रीकृष्णजन्माष्टमीको दिन भैरब मन्दिरमा नेवाः पोसाक हाकुपटासी लगाएर लामबद्ध सयौँ महिलाले टोलटोल घुमेर बत्ती दिने परम्परा छ । यस दिन नारायणको पूजा गरी नारायण बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाहरुले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी घुमिरहेका छन् ।
गाईजात्राका अवसरमा अहिले उपत्यका मात्र नभई अहिले देशका विभिन्न जिल्लाहरूमा गाईजात्रा निकाल्ने गरिन्छ । ती मध्ये सबैभन्दा भव्य गाईजात्रा भक्तपुरमै निकालिन्छ ।
  हिन्दू धर्मग्रन्थ पद्म पुराण अनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने भएकोले पृथ्वीमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने एवं मृतात्माहरुले यमलोक प्रवेश गरी  मुक्ति पाउने उल्लेख गरिएको संस्कृतिकर्मी रामशेखर श्रेष्ठले बताउनुभयो । गाईलाई नगर परिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *