विदेश छाडेर नेपालमै गरिएकाे च्याउ खेतीबाट राम्राे आम्दानी

धादिङ, २१ भदौ । विदेश छाडेर नेपालमै गरिएकाे च्याउ खेतीबाट धादिङका एक किसानले राम्राे आम्दानी गर्दै आउनुभएकाे छ ।

वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा लगानी गरेर राम्राे आम्दानी गर्नुभएको हाे । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गर्नुभएको हो ।

युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु एक लाख कमाई भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उहाँले बताउनुभयो । “अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाई भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो”, पौडेल भन्नुहुन्छ, “चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।”

विसं २०७६ मा काठमाडौँको नागार्जुन नगरपालिका–५ आमकोटबाट साझेदारीमा च्याउ खेती गर्न सुरु गर्नुभएका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहनुभएको छ । अहिले ४५ च्याउ घर छन् । दुई रोपनीमा ग्रिन हाउस छ ।

पौडेल भन्नुहुन्छ, “१० रोपनी आफ्नै जग्गा हो, २० रोपनी जग्गा वार्षिक रु ७५ हजार भाडामा लिएको छु, च्याउमा मात्रै पूरा एक करोड लगानी भएको छ ।” अहिले दैनिक पाँच सय किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा पुग्छ, सरदर महिनामा २० दिनमात्र च्याउ बिक्री गर्दा १० हजार किलो च्याउ बिक्री हुँदै आएको छ, एक वर्षमा एक लाख २० हजार किलो च्याउ बिक्री गर्दै आएको उहाँको भनाइ छ ।

सरदर प्रतिकिलो रु एक सय २० मा बिक्री गर्दा वार्षिक रु एक करोड ४४ लाखको करोबार हुने उहाँको अनुभव छ । जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उहाँले रु २५ लाखमा गाडी किन्नुभएको छ । तीनजना पूर्णकालीन र छ जना आंशिक गरी नौ जनालाई उहाँले रोजगारी पनि दिनुभएको छ ।

पौडेल भन्नुहुन्छ, “हिजो म अर्काको देशमा अरूकै काम गरेर आएको हुँ, आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु ।” उहाँले दुईवटा ग्रिन हाउस बनाउन रु छ लाख अनुदान सरकारबाट लिनुभएको छ । काम गर्ने मजदुर खर्च, ब्याज, कच्चापदार्थ खर्च, औषधी उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक रु एक लाख २० हजार बराबर कमाई हुने उहाँको भनाइ छ ।

“कमाएको हिसाबले विदेशमा मासिक रु ७५ हजार आउँथ्यो । विना लगानीको कमाई ठिकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी रु एक करोडमध्ये ५० लाख ऋणमा छ, घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु”, उहाँले भन्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *