कोशीमा नेता हिक्मत कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने, २ मन्त्री आजै नियुक्त हुने
विराटनगर, २२ भदौ । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गर्नुभएकाे छ ।
सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी भएसंगै प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।
मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने तयारी छ । एमाले श्रोतका अनुसार तिलकुमार मेन्याङ्वो र एकराज कार्कीलाई मन्त्री बनाउने तयारी भएकाे हाे । मेन्याङ्गोले कार्की नेतृत्वको सरकारमा यसअघि पनि मन्त्री बन्नुभएकाे थियाे ।
सर्वोच्च अदालतले बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।