अस्ताए संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ
काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । उहाँको हृदयघातबाट निधन भएको एमालेले जानकारी दिएको छ ।
बालुवाटारस्थित निवासमै उहाँको हृदयघात भएको थियो । त्यसपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा निधन भएको हो । उहाँलाई साढे १ बजे हृदयघात भएको र अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङको परिवारले जानकारी दिएको छ ।
उहाँको मृत्युको खवर लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायतका नेताहरु अस्पताल पुग्नुभएको थियो ।
२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा जन्मिनु भएका नेम्वाङको २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य हुनु भएको थियो । २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जित्दै आउनु भएका उहाँ २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम– २ बाट विजयी बन्नु भएको थियो भने उहाँ दुबै कार्यकाल संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहनुभयो ।
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भैसक्नु भएका उहाँ ७४ को संसदीय निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट उनी विजयी हुनुभएको थियो ।
गत पुस १० मा उहाँ एमालेको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्नुभएको थियो । तर, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल गठबन्धनबाट उम्मेदवार बन्नुभएकाले नेम्वाङ पराजित हुनुभएको थियो । नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बन्नुभएको थियो भने २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएका उहाँ तत्कालीन नेकपा मालेमा संगठित हुनुभयो ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध हुनुभयो । २०५४ को छैटौं महाधिवेशनदेखि उहाँ निरन्तर एमाले केन्द्रीय कमिटीमा हुनुहुन्छ । २०७१ सालमा भएको नवौं महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य बन्नुभयो । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष बन्नुभएको थियो ।