रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच झगडा, एक जनाको मृत्यु, तीन घाइते
रुपन्देही, २ असाेज । रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
सोमबार राति मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित झगडा गर्दा उक्त घटना घटेकाे हाे । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच झडप भएको हो।
झडपका क्रममा हेटौडा घर भई रुपन्देहीको मंगलपुरमा बस्दै आएका सुरेश स्याङतानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयाे।
झडपका क्रममा घाइते हुनेहरूमा काठमाडौँ महानगरपालिका–१ बस्ने विकास वाइबा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
झडपमा संलग्न रहेको आशङ्कामा १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।