नागरिकमैत्री स्थानीय शासन, सेवा प्रवाहमा प्रविधि, पारदर्शिता र नवप्रवर्तन, कार्यवाहक प्रमुख डंगोलका प्राथमिकता

काठमाडौँ महानगरपालिका

काठमाडौँ, मंसिर ११ । स्थानीय सरकारको प्रभावकारिता नागरिकले प्राप्त गर्ने सेवाको सहजता, पारदर्शिता र जवाफदेहिताबाट मापन हुन्छ । यही मान्यताका आधारमा काठमाडौँ महानगरपालिकाले स्थानीय शासनलाई थप नागरिकमैत्री, प्रविधिमैत्री र परिणाममुखी बनाउने प्रयास अघि बढाएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक सेवा प्रवाहमा सुधार, तथ्यमा आधारित योजना निर्माण, नागरिक सहभागिता, सामाजिक समावेशिता र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम तथा नीतिगत पहल अघि बढाउनुभएको छ ।

कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेपछि डंगोलले महानगरपालिकाका कामकारबाहीलाई नागरिकको दैनिक जीवनसँग जोड्ने, सार्वजनिक सेवामा हुने झन्झट घटाउने र सरकारी सूचनामा नागरिकको पहुँच बढाउने विषयलाई विशेष महत्त्व दिनुभएको छ । उहाँले स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले नागरिकका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

सूचना प्रविधिमार्फत सेवा प्रवाह र पारदर्शितामा जोड

महानगरपालिकाले विद्युतीय शासनलाई प्रभावकारी बनाउने उद्देश्यले आफ्नै प्राविधिक जनशक्तिबाट नयाँ वेबसाइट निर्माण गरी सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टरले विकास गरेको वेबसाइटमा नागरिकसँग सम्बन्धित सूचना, निर्णय, सेवा तथा विवरणलाई प्राथमिकता दिइएको छ । मोबाइल, ट्याब्लेट र कम्प्युटरबाट सहजै प्रयोग गर्न सकिने प्रणालीमा अपाङ्गता भएका व्यक्तिको पहुँचलाई समेत ध्यान दिइएको महानगरपालिकाले जनाएको छ ।

नयाँ प्रणाली सञ्चालनमा ल्याउने क्रममा कार्यवाहक प्रमुख डंगोलले आन्तरिक जनशक्तिको क्षमता विकास र प्रविधिमा आत्मनिर्भरतालाई महत्त्व दिनुभएको छ । बाह्य जनशक्तिमा निर्भर नभई महानगरकै प्राविधिक कर्मचारीबाट प्रणाली विकास हुँदा आवश्यकताअनुसार सेवा, सुविधा र सूचना अद्यावधिक गर्न सहज हुने उहाँको भनाइ छ । यसले सार्वजनिक सेवा प्रवाहलाई क्रमशः कागजविहीन, सेवाग्राहीको प्रत्यक्ष भौतिक उपस्थितिमा निर्भरता कम गर्ने र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

सूचनाको हक र सार्वजनिक जवाफदेहितालाई स्थानीय शासनको अभिन्न अङ्गका रूपमा स्थापित गर्न पनि डंगोलले पहल गर्नुभएको छ । महानगरपालिकाका कामको प्रगति, निर्णय र सार्वजनिक महत्त्वका तथ्याङ्क उत्पादन भएकै समयमा नागरिकको पहुँचमा पुर्‍याउन उहाँले सहरी योजना आयोग र विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । यसका लागि खुला तथ्याङ्क प्रणाली विकास गर्ने र सम्बन्धित विभागले आफ्ना सूचना तत्काल अद्यावधिक गर्ने व्यवस्था मिलाउन जोड दिइएको छ ।

महानगरपालिकामा प्रत्येक १५ दिनमा विभागीय प्रगति समीक्षा गर्ने अभ्यासलाई पनि अघि बढाइएको छ । यसबाट योजना कार्यान्वयनको अवस्था, देखिएका समस्या र समाधानका उपायबारे संस्थागत छलफल गर्ने तथा विभागहरूबीच समन्वय बढाउने प्रयास गरिएको छ ।

नीतिगत सुधार र दीर्घकालीन योजनामा नागरिक

कार्यवाहक प्रमुख डंगोलको नेतृत्वमा महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ११ वटा प्रमुख क्षेत्र समेटिएका १०१ नीतिगत बुँदासहितको नीति तथा कार्यक्रम अघि सारेको छ । सुशासन तथा सार्वजनिक प्रशासन, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, वातावरण तथा सरसफाइ, सहरी योजना, पूर्वाधार विकास, सम्पदा, संस्कृति तथा पर्यटन र सूचना प्रविधिलगायतका विषयलाई यसमा समेटिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डंगोलले महानगरपालिकाभित्रका सबै स्थानीय संरचना, निकाय र सरोकारवालाबीच समन्वय तथा साझेदारी आवश्यक रहेको बताउनुभएको थियो । स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउने, निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिने, साँघुरा सडक र बढ्दो सवारी चापलाई ध्यानमा राखेर बाइक एम्बुलेन्स सञ्चालन गर्ने, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै स्वास्थ्य र परामर्श सेवा उपलब्ध गराउनेजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै, महानगरपालिकाका १७ वटा एकाइबाट चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने तथा दीर्घकालीन महत्त्व राख्ने ५९ वटा योजना प्रस्ताव गरिएका छन् । नियमित प्रकृतिका कार्यक्रमभन्दा नीतिगत र संरचनागत रूपमा दीर्घकालीन प्रभाव पार्ने नयाँ कार्यक्रमलाई प्राथमिकता दिन डंगोलले निर्देशन दिनुभएको छ ।

सडक बत्ती व्यवस्थापन, भूमिगत पानी पुनःभरण, पहुँचयुक्त सडक निर्माण, सार्वजनिक सम्पत्तिमा नागरिकको पहुँच विस्तार, रैथाने सीप तथा कलाको संरक्षण, रोजगारी र स्वरोजगारमूलक तालिम तथा सहरी सुरक्षासँग सम्बन्धित योजनालाई प्राथमिकतामा राखिएको छ । यसले सहरी विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी स्थानीय अर्थतन्त्र, सामाजिक जीवन र नागरिकको दैनिक सहजतासँग जोड्ने प्रयासलाई प्रतिबिम्बित गर्छ ।

घरदैलोमै सेवा पुर्‍याउने र सामाजिक समावेशिताको प्रयास

नागरिकमैत्री स्थानीय शासनको अर्को महत्त्वपूर्ण पक्ष सेवा लिन नसक्ने तथा विशेष सहयोग आवश्यक पर्ने नागरिकसम्म सरकारी सेवा पुर्‍याउनु हो । यसै उद्देश्यले महानगरपालिकाले ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम अघि बढाएको छ ।

कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीलाई घरघरमा परिचालन गरी ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था, सामाजिक अवस्था र आवश्यकताबारे विवरण सङ्कलन गर्ने व्यवस्था गरिएको छ । स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण, औषधि र तथ्याङ्क सङ्कलन गर्ने ट्याब्लेटसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ । आवश्यकताअनुसार औषधि व्यवस्थापन, पोषण परामर्श, दीर्घरोग नियन्त्रण, मानसिक स्वास्थ्य परामर्श तथा आकस्मिक उपचारका लागि प्रेषण प्रणाली विकास गर्ने उद्देश्य राखिएको छ ।

डंगोलले स्वास्थ्यकर्मीलाई यो कामलाई पदीय जिम्मेवारीमा मात्र सीमित नराखी मानवीय सेवाका रूपमा लिन आग्रह गर्नुभएको थियो । घरमा एक्लै रहेका, आर्थिक अवस्था कमजोर भएका र शारीरिक अशक्तताका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने महानगरपालिकाको योजना छ । सङ्कलित विवरणका आधारमा आगामी योजना तथा बजेटलाई वास्तविक आवश्यकतासँग जोड्ने लक्ष्यसमेत राखिएको छ ।

सार्वजनिक सुविधालाई सबै वर्ग र समुदायको पहुँचमा पुर्‍याउने विषयमा पनि महानगरपालिकाले अध्ययनमा आधारित काम अघि बढाएको छ । यसको उदाहरण सार्वजनिक शौचालयको व्यवस्थापनसम्बन्धी अध्ययन हो । महानगरपालिकाभित्रका १६९ सार्वजनिक शौचालयको अवस्था अध्ययन गर्दा ११३ वटा नियमित सञ्चालनमा रहेको, नौवटा आंशिक सञ्चालनमा रहेको र १४ वटा बन्द वा प्रयोगमा नरहेको पाइएको छ ।

अध्ययनले १२३ वटा शौचालयमा मर्मत तथा स्तरोन्नतिको आवश्यकता औँल्याएको छ । अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त सुविधा भएका शौचालयको सङ्ख्या १५ मात्र रहेको र महिनावारी स्वच्छता व्यवस्थापनका सुविधा ३२ वटामा मात्र उपलब्ध रहेको तथ्यले सहरी सार्वजनिक सुविधामा समावेशिताको चुनौती देखाएको छ ।

यसलाई सम्बोधन गर्न डंगोलले सार्वजनिक शौचालयलाई अत्यावश्यक र आधारभूत सेवाका रूपमा सञ्चालन गर्ने संयन्त्र निर्माण गर्न तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित र पहुँचयुक्त बनाउन निर्देशन दिनुभएको छ । अध्ययनका सुझावलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनामा विभाजन गरेर सुधार अघि बढाउने महानगरपालिकाको तयारी छ ।

वातावरणीय व्यवस्थापनमा नवप्रवर्तन र साझेदारी

स्थानीय शासनलाई परिणाममुखी बनाउने क्रममा डंगोलले वातावरण संरक्षण र फोहर व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुभएको छ । यसको पछिल्लो उदाहरण टेकु ट्रान्सफर स्टेसन परिसरमा रहेको वायोग्यास प्लान्ट पुनःसञ्चालनमा ल्याउने पहल हो ।

लामो समयदेखि प्राविधिक कारणले बन्द रहेको प्लान्टलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र विश्व बैंकको सहयोगमा करिब एक करोड ८० लाख रुपियाँको लागतमा परिष्कृत गरी परीक्षणका लागि सञ्चालनमा ल्याइएको छ । प्लान्टमा दैनिक तीन मेट्रिक टन जैविक फोहर प्रशोधन गरी करिब ३०० घनमिटर बायोग्यास उत्पादन गर्न सकिने प्राविधिक क्षमता रहेको छ । उत्पादित ग्यासलाई ऊर्जा उत्पादन तथा अन्य उपयोगमा ल्याउन सकिने सम्भावना छ ।

प्लान्ट सञ्चालनको शुभारम्भ गर्दै डंगोलले यसलाई व्यावसायिक सम्भावनासँगै सिकाइ केन्द्रका रूपमा विकास गर्न चाहेको बताउनुभएको छ । यहाँबाट प्राप्त अनुभवलाई देशभर शून्य फोहर र फोहरबाट ऊर्जा उत्पादन गर्ने अवधारणा कार्यान्वयनको आधार बनाउन सकिने उहाँको भनाइ छ । यसले फोहरलाई अन्तिम विसर्जन गर्नुपर्ने वस्तुका रूपमा मात्र नहेरी स्रोत र ऊर्जाका रूपमा उपयोग गर्ने महानगरको सोचलाई देखाउँछ ।

फोहर व्यवस्थापन, सार्वजनिक स्थलको सरसफाइ, सडक तथा पार्किङ व्यवस्थापन, हरियाली प्रवर्द्धन, विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमलाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको छ । पानी पुनःभरण कार्यक्रम र सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्कुल–स्कुल साझेदारी कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउन विभागहरूलाई निर्देशन दिइएको छ ।

नागरिकको अपेक्षा र कार्यान्वयनको चुनौती

स्थानीय शासनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भनेको योजना घोषणा गर्नु मात्र नभई त्यसको प्रभाव नागरिकको जीवनमा देखिने गरी कार्यान्वयन गर्नु पनि हो । महानगरपालिकाले अघि सारेका डिजिटल सेवा, घरदैलो स्वास्थ्य सेवा, सार्वजनिक पूर्वाधारको पहुँच, वातावरणीय व्यवस्थापन र तथ्यमा आधारित योजना निर्माणका प्रयासले स्थानीय सरकारको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने आधार तयार गरेका छन् ।

तर, यस्ता पहलको वास्तविक उपलब्धि तिनको निरन्तरता, प्रभावकारी कार्यान्वयन र नागरिकले अनुभूत गर्ने परिणामबाट मापन हुनेछ । विशेषगरी डिजिटल सेवामा सबै नागरिकको समान पहुँच, सार्वजनिक शौचालयको नियमित सञ्चालन, ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य सेवाको विस्तार, फोहरको स्रोतमा वर्गीकरण तथा प्रशोधन प्रणालीको दिगोपन र सार्वजनिक सूचनाको समयमै अद्यावधिक गर्ने विषयमा निरन्तर अनुगमन आवश्यक छ ।

कार्यवाहक प्रमुख डंगोलले नागरिकमैत्री शासन, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सरकारी सेवालाई झन्झटमुक्त तथा प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । उहाँले स्वास्थ्य, शिक्षा, खानेपानी र स्वच्छ वातावरणजस्ता आधारभूत अधिकारको प्रत्याभूतिलाई स्थानीय सरकारको जिम्मेवारीका रूपमा व्याख्या गर्नुभएको छ ।

स्थानीय सरकारको सफलता नागरिकले कार्यालय धाउनुपर्ने बाध्यता घट्नु, सेवा प्राप्त गर्न लाग्ने समय र खर्च कम हुनु, सार्वजनिक स्रोतको पारदर्शी उपयोग हुनु र कमजोर तथा सीमान्तकृत समुदायले समेत समान रूपमा सेवा पाउनुमा निर्भर रहन्छ । त्यसैले काठमाडौँ महानगरपालिकाले अघि बढाएका यी प्रयासको निरन्तरता र प्रभावकारी कार्यान्वयनले नागरिकमैत्री स्थानीय शासनको अभ्यासलाई थप संस्थागत गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *