विश्व मुटु दिवस : खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने

चितवन, १२ असोज । खानपान र जीवनशैलीमा ध्यान दिनसकेमा मुटुलाई रोगबाट बचाउन सकिने विज्ञ चिकित्सकले बताएका छन् ।

पछिल्लो समय मानिसहरुको विलासी जीवनशैलीका कारण मुटुरोगको समस्या बढ्दै गएको उहाँहरुको भनाइ छ ।

भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणि गौतम परिवारका सदस्यलाई मुटुसँग सम्बन्धित रोग भए/नभएको ख्याल गर्नुपर्ने बताउनुहुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपना भएका व्यक्तिलाई मुटुरोग हुने जोखिम बढी हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “जोखिमका तत्व पहिचान गरेर मुटुरोगबाट सुरक्षित रहन सकिन्छ ।” धूमपान, मद्यपानलगायतका बानी व्यहोरामा सुधार गर्नुपर्ने उहाँको सुझाव छ । शारीरिक व्यायाममा ध्यान दिन, मोटोपना घटाउन, तनाव कम गर्न, मधुमेह, कोलेस्ट्रोल र उच्च रक्तचाप भएमा त्यसको नियमित औषधि सेवन गरेर व्यवस्थापन गर्न उहाँले सुझाव दिनुभयो ।

मुटुको बाथको रोग, जन्मजात रोगहरु छन् भने त्यहीअनुसार व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “समयमा ध्यान दिनसके मुटुरोग लाग्नबाट बच्न सकिन्छ, लागिसकेपछि पनि जोगिन सकिन्छ ।”

चितवन मुटु अस्पतालका मुटु रोग विशेषज्ञ डा शङ्कर लौडारीले मुटुरोग लाग्नुभन्दा पहिले नै सर्तक हुन सक्यौँ भने मुटुरोगबाट बच्न सकिने बताउनुहुन्छ ।

चिकित्सकको सल्लाहबिना अनावश्यक औषधि धेरै प्रयोग र शारीरिक व्यायामको अभावका कारण मुटु रोग बढ्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “फलफूल, तरकारी, प्रोटिनको मात्रा अलि बढी खाने, कार्बोहाइड्रेड मात्रा कम गर्ने, चिल्लो खानेकुरा कम गर्ने, एन्टिअक्सिडेन्टल चीजहरु धेरै खाने, आवश्यक परेको बेला भिटामिन पनि खान सकिन्छ, यी खानेकुराले मुटुलाई फाइदा गर्छ ।”

मुटुको केही रोगहरु देखियो र शङ्का लाग्यो भने नजिकको मुटुरोग चिकित्सकलाई देखाउन उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बढ्दो उमेर, धूमपानको प्रयोग, अत्यधिकमात्रामा मद्यपान, उच्च रक्तचाप, सुगर, कोलेस्ट्रोरललगायत वायु प्रदूषणलाई पनि मुटुरोगका कारक मानिन्छ ।”

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा विष्णुमणि धितालले मुटुरोगका सामान्य लक्षण पहिचान गरेर समयमै उपचार गर्न सुझाव दिनुभयो । उहाँका अनुसार छातीको बिच्चको भागमा लामो समयसम्म दुख्ने, केही काम गर्दा, उकालो चढ्दा वा धपेडी भएको बेला छाती गह्रुँगो हुने, केही कुराले थिचेको जस्तो हुने मुटुरोगका लक्षण हुन् ।

यसैगरी पोलिरहेको जस्तो महसुस हुने, त्यो दुखाइ कहिलेकाहीँ दायाँतिर, कहिले बायाँतिर र कहिलेकाहीँ पछाडितिर सर्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो भएको महसुस हुने पनि मुटुरोगका लक्षण भएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *