अभिनेता अनमोल केसी पक्राउ
काठमाडौं, १२ असाेज । अपराधिक छलकपट गरेकाे आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । केसी भक्तपुरको साँगाबाट पक्राउ परेका हुन् ।
फिल्म ‘रावायण’का लागि एड्भान्स स्वरूप दस लाख लिएर केसीले साइन गरेकाे आराेप छ । केसीले फिल्ममा सम्झौता नै नभएको र आफूले साइन गर्दै नगरेको बताएपछि फिल्मकी निर्माता सुप्रिया कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असाेज ८ गते उजुरी दिएकी थिइन् ।
केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रावायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा केसी पक्राउ परेका हुन् ।