सुदूरपश्चिममा स्क्रब टाइफसका एक हजार बढी बिरामी भेटिए

कञ्चनपुर, २३ असोज । सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा एक हजार एक सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा चार सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन् । बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ ।

गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा दुई हजार दुई सय ७५ जना बिरामी भेटिएका थिए । जसमा सबैभन्दा बढी डडेल्धुरामा पाँच सय ४५, कैलालीमा पाँच सय २९, कञ्चनपुरमा तीन सय ७७, दार्चुलामा तीन सय २४ बिरामी भएका थिए । यसैगरी, बैतडीमा एक सय ७९, अछाममा एक सय ४१, बझाङमा ६३ र बाजुरामा ६२ जनामा स्क्रब टाइफस देखा परेको थियो ।

स्टक्रब टाइफसको संक्रमण भए धेरै ज्वरो आउने, टाउको दुख्नु, धेरै पसिना आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किर्नाले टोकेको ठाउँमा रातो दाग देखिनु र पछि गएर कालो दागका लक्षण देखिने गर्दछ । स्क्रब टाइफसको लक्षण कोभिड– १९ सँग मिल्दोजुल्दो हुने भएकाले पहिचान र उपचारका लागि नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा जानुपर्ने उहाँले बताउनुभयो । स्क्रब टाइफसका बिरामी औषधि सेवनपछि पूर्णरुपमा निको हुने जोशीको भनाइ रहेको छ ।

“समयमै उपचार नगरे यसले गम्भीर रुप लिनसक्छ”, उहाँले भन्नुभयो, “यसले मस्तिष्क, कलेजो, फोक्सोको सङ्क्रमणसँगै बहुअङ्ग विकार गर्ने अवस्था पनि सिर्जना हुनसक्छ ।” स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा गर्ने गरेको उहाँले बताउनुभयो ।