जनवाद मात्र बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, मानिस पार्टीमा अटाउन सक्दैनः ओली

काठमाडौं, २७ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनवाद मात्र बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टीमा अटाउन नसक्ने चेतावनी दिनुभएको छ । माले स्कुल विभागले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले जनवादी केन्द्रीयताबाहेक संसारमा अरू सङ्गठनात्मक सिद्धान्त नभएको उल्लेख पनि गर्नुभयो । जनवादी केन्द्रीयताविना पार्टी चल्न नसक्ने उहाँको भनाई थियो ।

‘पार्टीको अनुशासन नमान्ने व्यक्ति पार्टीको कार्यकर्ता हुन सक्दैन,’ ओलीले भन्नुभयो, ‘पार्टीबाट प्रशिक्षित भएका व्यक्ति चेतनाको दियो भएर उभिन सक्नुपर्छ । पार्टीमा बसेर महासचिव, उपमहासचिव मान्दिँन भन्नु संगठन विपरीत हो । अनुशासनहीन र अराजकताले पार्टी अगाडि बढ्न सक्दैन ।’

अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ अनुशासन कायम नभए पार्टी जोगाउन नसकिने उल्लेख पनि गर्नुभयो । ‘पार्टी जीवनमा संगठन, नेतृत्वलाई मान्नुपर्छ। यो मान्दिन, ऊ मान्दिन भन्ने छुट कसैलाई छैन। पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ,’ उहाँले भन्नुभयो, ‘केन्द्रीयता नभई पार्टी हुन सक्दैन। केन्द्र नभई देशभरीको पार्टी के हुन्छ ? हरेक सदस्य ऊ आफै पार्टीको सिंगो रचना त हुन नसक्दैन नि । पार्टीको संरचनालाई स्वीकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ ?’

पार्टी भनेको अनुशासनयुक्त हुन्छ भन्दै सुदृढ अनुशासन पार्टीमा चाहिने बताउनुभयो । ‘जहाँ पनि अराजकतालाई कहीँ पनि एक इन्च अस्विकार गर्नुस् । एक इन्च पनि स्वीकार नगर्नुस् । हरेक ठाउँमा अस्विकार गर्नुस अराजकतालाई । जनवाद मात्रै बुझ्ने, केन्द्रीयतालाई नबुझ्नेले पार्टी बुझ्दैन,’ उहाँले भन्नुभयो, ‘पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टी हुन सक्दैन ।ड