नेपाललाई शीर्ष छमा स्थान सुरक्षित गर्ने अवसर : आज क्यानडासँग भिड्दै
एकदिवसीय क्रिकेट
काठमाडौँ, असोज ३१ । ओमानमा जारी आइसिसी विश्वकप लिग २ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । अल अमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपालका लागि यो खेल लगातार तेस्रो जित निकाल्दै प्रतियोगिताको अङ्क तालिकामा शीर्ष छभित्र आफ्नो स्थान सुरक्षित गर्ने अवसर हो। नेपालले आजको खेल जितेमा एक खेल बाँकी छँदै शीर्ष छमा स्थान सुनिश्चित गर्नेछ । यता क्यानडा भने जित निकाल्दै शीर्ष छमा पर्ने सम्भावना कायम राख्ने लक्ष्यमा छ ।
अङ्क तालिकामा नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ । नेपालले ३४ खेलबाट १३ जित, १९ हार र दुई बराबरीसहित २८ अङ्क जोडेको छ । सातौँ स्थानमा रहेको क्यानडाले ३५ खेलमा ११ जित, १९ हार र पाँच खेलमा अङ्क बाँड्दै २७ अङ्क हासिल गरेको छ ।
यस शृङ्खलामा नेपालले सुरुआती दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानलाई ११३ रनले हराएको थियो। यही लय कायम राख्दै क्यानडाविरुद्ध अर्को जित निकाल्ने नेपालको लक्ष्य छ।
क्यानडाले भने नेपालसँग पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै शीर्ष छमा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ। उसले पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले २५६ रन बनाएको थियो। त्यसैले आजको खेलमा नेपालले क्यानडाको ब्याटिङलाई नियन्त्रणमा राख्दै आफ्नो ब्याटिङ प्रदर्शनसमेत सुधार गर्नुपर्नेछ ।
नेपालले जारी शृङ्खलाका दुवै खेलमा पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको छ। क्यानडाविरुद्ध २३५ रन बनाएको नेपालले ओमानसँगको खेलमा २६३ रन जोडेको थियो । शृङ्खलामा पहिले ब्याटिङ गर्ने टोलीले जित हासिल गरेकाले आजको खेलमा टस र सुरुआती ब्याटिङले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछ ।
क्यानडासँग नेपालको विगत
नेपाल र क्यानडाबीच हालसम्म भएका छ एकदिवसीय अन्तरराष्ट्रिय खेलमध्ये नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। सन् २०२४ मा क्यानडासँग पराजित भएपछि नेपालले पछिल्ला खेलमा जित हासिल गर्दै आएको छ । आजको प्रतिस्पर्धामा पनि त्यही लयलाई निरन्तरता दिने नेपालको लक्ष्य छ ।
क्यानडालाई पराजित गर्न सके नेपालले शीर्ष छमा आफ्नो स्थान सुरक्षित गर्नुका साथै शृङ्खलाको अन्तिम खेलमा ओमानविरुद्धको दबाब कम गर्न सक्नेछ । तर, आज पराजित भएमा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ । त्यसैले दुवै टोलीका लागि आजको खेल अङ्क तालिकामा आफ्नो स्थान बलियो बनाउने निर्णायक अवसरका रूपमा रहेको छ ।
