सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
लागुऔषध
काठमाडौँ, असोज ३१ । प्रहरीले देशका सात जिल्लाबाट विभिन्न प्रकारका लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङबाट नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चितवनको राप्ती नगरपालिका १ का ३२ वर्षीय गोविन्द तामाङ र मकवानपुरको मनहरी गाउँपालिका ३ लामिटारका २४ वर्षीय सफल विक्रम राणा पक्राउ परेका छन् ।
त्यसैगरी, ललितपुर महानगरपालिका १८ वाइवाई चोकबाट ट्रामाडोलसहित धादिङको नीलकण्ठ नगरपालिका ५ घर भई ललितपुरको चुनिखेलमा बस्ने २२ वर्षीय नवीन आले मगरसहित दुई जना पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका ८ कोठुबाट नाइट्राजेपामसहित सोही नगरपालिका ४ प्रगति टोलका २१ वर्षीय सरोज बर्देवा पक्राउ परेका छन् ।
प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका १ फटैया खल्लाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित कैलालीको जोशीपुर गाउँपालिका ९ का २२ वर्षीय कुशल चौधरी र कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारका ३० वर्षीय विशाल विकलाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका २ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका ८ का ३९ वर्षीय मिलन मेचेसहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका १ हलगडा चोकबाट ट्रामाडोल र डाइक्लोमाइनसहित मोरङको सुन्दरहरैँचा नगरपालिका ५ सिक्किमे चोकका ३१ वर्षीय पर्शुराम गुरुङ पक्राउ परेका छन् । इटहरी २ बरगाछीबाट सोही ठाउँका २८ वर्षीय उज्ज्वल बुढाथोकी पनि पक्राउ परेका छन् । उनीहरूले प्रयोग गरेका दुईवटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।
यसैगरी, तनहुँको भिमाद नगरपालिका ६ शान्तिनगर टोलमा डेरा गरी बस्ने भिमाद नगरपालिका ३ जलौदीका ३१ वर्षीय शिव मल्ललाई फेनारगन, डाइजेपाम र बुप्रेनोर्फिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न स्थानमा नियमित गस्ती गर्ने क्रममा लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
