बालबालिकाहरुको मुद्धामा समाचार लेख्दा संवेदनशिलतामा ध्यान दिन आग्रह

काठमाडौं, २९ असाेज । बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरुले दुःख व्यक्त गरेका छन् ।

बालबालिकाहरूकाे अधिकारकाे क्षेत्रमा काम गर्दै आएकाे चाइल्ड नेपाल नामक संस्थाले राष्टिय सञ्चारमाध्यम (डेस्क सम्पादक र सम्पादक)सँंग गरेको अन्तरक्रियामा उनीहरुले कुल समाचारको झण्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरुको मुद्धामा रहेको बताए ।

उनीहरुले अधिकांश समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै बालबालिका सम्वन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रशारित गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले ससाना बालबालिकाहरुको मुद्धामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशिलता अपनाउनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा डा कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्वन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुर्व्यवहारका समाचारहरु रहने गरेको तथ्यांक प्रस्तुत गरे । यसले भोलिका बालबालिकाहरुलाई नकारात्मक सन्देश प्रवाह भइरहेको उनको भनाई थियो ।

कार्यक्रममा बाहखरीका विशेष सम्पादक हरिबहादुर थापाले बालिका बलात्कृत भनेर छापिने समाचारमा पीडकको ठेगाना खोलिदिएपछि पीडित पनि त्यही गाउँंकै नै हुने भएर नाम नखुलाए पनि पीडित थप पीडित हुने बताए । उनले भने, “बालबालिका सम्वन्धीका समाचारको लेखन, सम्पादनमा विशेष गम्भीर्यता अपाउनुपर्ने अवस्था आएकाे छ । यसमा सम्पादक हरूले विशेष ध्यान दिन जरूर देखिएकाे छ ।”

कार्यक्रममा चाइल्ड नेपालका निर्देशक मोहन दंगालले कार्यक्रममा उठेका प्रश्नकाे जवाफ दिंदै पछिल्ला कार्यक्रमहरूमा सम्पादक र प्रत्यक्ष बालबालिकासंगकाे सहभागितामा समन्वयात्मक भूमिकामा रहेर अन्तरक्रिया गरिने बताउनुभयाे ।

कार्यक्रममा सम्पादक थापाले बालबालिकाबारेका मुद्धामा हाल चलिरहेको सम्पादन र रिर्पाेटिंगको संवेदनशिलता विषयमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमाथि डा अर्यालले टिप्पणी गरेका थिए ।

कार्यक्रममा पत्रकारहरु जनक नेपाल, जुनारबाबु बस्नेत, गंगा विसी, प्रकाश सिलवाल, कृष्ण किसीलगायतका सम्पादकहरूले आआफना अनुभवहरु सुनाएका थिए । कार्यक्रममा विभिन्न मिडियाका डेस्क इडिटर तथा इडिटरहरु सहभागी रहेका थिए ।