नेपाली र अमेरिकी सेनाबीच शान्ति प्रयास अभ्यासअन्तर्गत अनुभव आदानप्रदान हुने

काठमाडौं, ११ मङ्सिर । नेपाली सेना र अमेरिकी सेनाबीच ‘शान्ति प्रयास अभ्यास–२०२६’ अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी जोखिम व्यवस्थापनमा ज्ञान तथा अनुभव आदानप्रदान हुने भएको छ ।

अमेरिकी सेनाको प्रशान्त कमान्डका विशेषज्ञहरू मङ्सिर १४ देखि २१ गतेसम्म नेपाली सेनासँगको कार्यक्रममा सहभागी हुने अमेरिकी दूतावासले जनाएको छ । नेपाली सेनाको आयोजनामा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रममा दुवै देशका सैन्य विशेषज्ञले विस्फोटक पदार्थजन्य जोखिम व्यवस्थापन, सुरक्षित विसर्जन तथा शान्ति स्थापना कार्यका क्रममा अपनाइने सुरक्षा अभ्यासबारे अनुभव आदानप्रदान गर्नेछन् ।

यस कार्यक्रमले दुवै देशका सेनाबीच सहकार्य, क्षमता अभिवृद्धि तथा शान्ति स्थापना अभियानमा खटिने सैनिक र नागरिकको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने अमेरिकी दूतावासले जनाएको छ ।

कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले नेपाल विश्वका अग्रणी शान्ति सैनिक योगदानकर्ता मुलुकमध्ये एक रहेको उल्लेख गर्दै कार्यक्रमले नेपाल–अमेरिका दीर्घकालीन रक्षा साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *