प्राप्त सुझाव समेटेर निर्वाचन आयोगको रणनीतिक योजना परिमार्जनसहित कार्यान्वयन गरिने
काठमाडौँ, मंसिर ११ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले सरोकारवालाबाट प्राप्त सुझाव समेटेर निर्वाचन आयोगको चौथो रणनीतिक योजनालाई परिमार्जनसहित प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
निर्वाचन आयोगद्वारा आज ललितपुरमा आयोजित चौथो रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि सरोकारवालासँगको परामर्श बैठकको समापनमा उहाँले योजनामा समावेश कार्यक्रम कार्यान्वयन गर्न नसकिने प्रकृतिका नभएकाले आवश्यक प्रक्रियागत सुधार गरी कार्यान्वयनमा लैजाने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त कार्कीले रणनीतिक योजनाको समीक्षा तथा छलफलका क्रममा केही कार्यक्रम आंशिक रूपमा कार्यान्वयन भएको र केही सुरु हुन नसकेको विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका ३५ कार्यक्रममध्ये १६ वटा आंशिक रूपमा कार्यान्वयन भएका छन् भने १० वटा कार्यक्रम सुरु हुन सकेका छैनन् ।
कार्यान्वयन हुन नसकेका कार्यक्रमका कारण पहिचान गरी आवश्यक सुधार गर्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कार्यक्रम कार्यान्वयन गर्न नसकिने प्रकृतिका छैनन्, कार्यान्वयनको ढाँचा तथा प्रक्रियामा सुधार आवश्यक छ भन्ने विषयमा सहभागीहरूबाट सुझाव प्राप्त भएको छ ।”
उहाँले रणनीतिक योजनाका पाँचवटै मूल स्तम्भमा आधारित रहेर भएको छलफलमा सहभागीहरूले कार्यक्रम असम्भव वा अनावश्यक रहेको भन्दा पनि प्रभावकारी कार्यान्वयनका लागि प्रक्रियागत सुधार आवश्यक रहेको सुझाव दिएको बताउनुभयो ।
सहभागीबाट प्राप्त सुझावले रणनीतिक योजना कार्यान्वयनमा थप आत्मविश्वास बढाएको उल्लेख गर्दै उहाँले आवश्यक परिमार्जनपछि योजनाका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने स्पष्ट पार्नुभयो ।
निर्वाचन आयुक्त डा राजीव सुब्बाले निर्वाचन प्रणालीलाई प्रविधिमैत्री र समावेशी बनाउन अब ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदान सुविधा, हुलाकमार्फत मतदान, अन्तरजिल्ला मतदान, भिभीप्याटसहितको विद्युतीय मतदान प्रणाली तथा इन्टरनेट भोटिङजस्ता विकल्पलाई चरणबद्ध रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन पद्धति तथा प्रणालीमा गर्नुपर्ने सुधारका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
बैठकमा निर्वाचन आयोगको चौथो रणनीतिक योजनाको कार्यान्वयन अवस्थाबारे आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी प्रस्तुत गर्नुभएको थियो । सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले योजनाको कार्यान्वयन अवस्था र चुनौतीबारे प्रश्नोत्तर, विषयगत समूहमा छलफल तथा समूहगत प्रस्तुतीकरणमार्फत आफ्ना सुझाव राख्नुभएको थियो ।
