पुरुष फुटबलमा आर्मीको लगातार दोस्रो जित

दसौँ राष्ट्रिय खेलकुद

काठमाडौँ, मंसिर ११ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा आज भएको खेलमा आर्मीले बागमतीलाई २–० गोलले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औँ मिनेटमा आर्मीका लाकेन लिम्बूले पहिलो गोल गर्नुभएको थियो । त्यसपछि अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गर्नुभएका नवयुग श्रेष्ठले खेलको ९७औँ मिनेटमा दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गर्नुभयो ।

खेलमा आर्मीका लाकेन लिम्बूले १२औँ, अनुभव पुरीले ३९औँ र विमल पाण्डेले ९२औँ मिनेटमा पहेँलो कार्ड पाउनुभएको थियो । यस्तै, बागमतीका रोनिस राजबाहकले ८८औँ र भुवन कामीले ९२औँ मिनेटमा पहेँलो कार्ड पाउनुभएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

यस जितसँगै लुम्बिनी प्रदेशलाई पहिलो खेलमा पराजित गरेको आर्मीले लगातार दोस्रो जित निकाल्दै छ अङ्क जोडेको छ । पहिलो खेलमा कोशी प्रदेशसँग बराबरी खेलेको बागमतीको भने एक अङ्क रहेको छ ।

आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगिताअन्तर्गत भोलि पहिलो खेलमा बिहान ९ बजे सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो २ः३० बजे गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *