विपद् पूर्वसूचना सर्वसाधारणले सहजै बुझ्ने र गम्भीरताअनुसार सम्प्रेषण गर्नुपर्ने

काठमाडौँ,  मङ्सिर ११ । विपद्का बेला जारी गरिने पूर्वसूचनालाई जोखिमको गम्भीरताअनुसार वर्गीकरण गरी सर्वसाधारणले सहजै बुझ्ने भाषामा सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

‘रसुवा–भोटेकोशी बाढीलगायतका विपद्मा पूर्वसूचना प्रणालीः अनुभव, सिकाइ र प्राथमिकता’ विषयक कार्यशालामा सहभागी वक्ताहरूले पूर्वसूचनाको विश्वसनीयता, प्रभावकारी सूचना प्रवाह र सञ्चारमाध्यमको भूमिका थप सुदृढ बनाउनुपर्ने बताएका हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव शिवकुमार पोख्रेलले विपद्को जोखिम र गम्भीरताका आधारमा पूर्वसूचना जारी गर्नुपर्ने बताउनुभयो । उहाँले विपद्का बेला आधिकारिक सूचना सम्प्रेषण गर्न छुट्टै आपत्कालीन सञ्चार टोली गठन गरेर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विपद्का कारण टेलिफोन, विद्युत्, रेडियो तथा टेलिभिजनका टावरसमेत प्रभावित हुनसक्ने भएकाले सङ्कटका बेला प्रयोग गर्न सकिने वैकल्पिक सञ्चार उपकरण र पूर्वाधारको सुरक्षा तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले रसुवा बाढीका क्रममा तल्लो तटीय क्षेत्रका बासिन्दाले पूर्वसूचना पाए पनि त्यसलाई गम्भीरतापूर्वक नलिँदा मानवीय क्षति भएको बताउनुभयो । पूर्वसूचना जारी गर्नु मात्र पर्याप्त नहुने भन्दै त्यसलाई नागरिकले बुझ्ने र आवश्यक सावधानी अपनाउने वातावरण बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

जलविज्ञान तथा जलस्रोत केन्द्रका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले हिमाली क्षेत्रमा हुने मौसमी तथा हिमबाढीको अवस्थाबारे जानकारी प्राप्त गर्न छिमेकी मुलुक चीनसँग सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले विभागले जारी गर्ने पूर्वसूचनामा प्राविधिक शब्द बढी प्रयोग हुने र सर्वसाधारणलाई बुझ्न कठिन हुने गुनासो आएपछि अहिले सूचना तथा एसएमएस सन्देशलाई सरल र छोटो बनाइएको बताउनुभयो ।

कार्यशालामा सहभागीले मोबाइलमा विभिन्न प्रकारका सूचना निरन्तर प्राप्त भइरहँदा विपद्सम्बन्धी सूचनाप्रति समेत नागरिकको चासो घट्न सक्ने बताएका थिए । उनीहरूले विपद्सम्बन्धी सूचना अन्य सामान्य सन्देशभन्दा छुट्टै पहिचान गर्न सकिने धुन, सङ्केत वा चेतावनी प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

सहभागीहरूले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सूचना जारी गर्ने निकाय, सञ्चारमाध्यम र स्थानीय समुदायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै सूचना प्राप्त भएपछि तत्काल सुरक्षित स्थानमा जान र आवश्यक सतर्कता अपनाउन सक्ने गरी जनचेतना अभिवृद्धि गर्नुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *