गोकर्णको पवित्र पुण्य तीर्थ

दशैं–मोहनीको तेस्रो दिन अर्थात आजको दिन नवरात्रिको मेला भर्न जाने पवित्र तीर्थस्थल गोकर्णको पुण्य तीर्थ हो । बागमती र अमोघ फलदायनी नदीको संगमस्थल रहेको यो दोभानको तीर्थस्थलमा स्नान गर्नाले उच्चतम पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

काठमाडौंबाट टाढाको दूरीमा रहेको यो तीर्थस्थल जाने दिन काठमाडौंवासीहरु राति १२ बजे नै घरबाट प्रस्थान गर्दथे । नवरात्रिका यी तीर्थहरू दर्शन गर्ने कार्य राति आकाशमा तारा रहेकै बेला सम्पन्न गर्नुपर्छ भन्ने विश्वासका कारण तीर्थालुहरु राति वा बिहान झिसमिसेमै बाजागाजा सहित जाने गर्दथे ।

गोकर्णस्थित पुण्य तीर्थमा खास गरी गोकर्ण औंशीका दिन मेला लाग्ने भएकोले यो तीर्थबारे धेरैजना परिचित पनि छन् । यहाँ खास गरी पितृका नाममा श्रद्धा गर्ने गरिन्छ । उक्त दिन बुबा नहुने श्रद्धालुहरु यहाँ आई आफ्ना बुबाको नाममा सिदा दान गर्ने कार्य पनि गर्दछन् । यहाँ स्नान गरी पूजा गरेमा पे्रतादिले दुःख नदिने, हिंसादि पापबाट मोचन हुने र नर्कमा बास नहुने विश्वास गरिन्छ ।

यो तीर्थमा तक्षक नागराजको बास रहेको धार्मिक विश्वास गरिन्छ ।

यहाँ खास गरी वज्रयानी बौद्ध अनुयायीहरु आर्य प्रज्ञापारमिता सूत्र पाठ गर्ने गर्दछन् । वज्रयानी बौद्ध समुदायले आयोजना गर्ने द्वादश तीर्थका बेला सबैभन्दा पहिलो व्रत यही तीर्थमा बस्ने गरिन्छ । यो अतिरिक्त यहाँ अन्य पर्व एवं अवसरहरुमा पनि विशेष मेला हुने, व्रत बस्ने जस्ता सामुहिक कार्यहरु सम्पन्न भइरहेका हुन्छन् ।

मोहनीको नवरात्रिमा यो तीर्थमा स्नान गरी सँगै रहेको रुद्रायणी पीठमा पूजा गर्ने परम्परा रहेको छ ।

वर्षेनी मेला लाग्ने स्थल र गोकर्ण गाविस (हाल गोकर्ण नगरपालिका) कै एक चिरपरिचित धार्मिकस्थल भएकोले स्थानीय जनता र स्थानीय निकायले पनि यो तीर्थको संरक्षण र सौन्दर्यकरणमा विशेष ध्यान दिइरहेका छन् ।