टी–२० अन्तरराष्ट्रिय क्रिकेट : नेपालले दियो युएईलाई १६३ रनको लक्ष्य
काठमाडौं,१० कात्तिक । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले युएईलाई १६३ रनको चुनौती दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो ।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै, करण केसीले अविजित २३ रन बनाए । उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन् ।
दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए । कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए । त्यस्तै, आसिफ शेख ७ रनमा आउट भए । उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन् । कुशल मल्ल १ रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए ।
बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान दुई/दुई विकेट झारे । त्यस्तै, जुनैद शिद्धिकीले एक विकेट लिए ।