जीवित व्यक्तिलाई मृत्यु भएको देखाएर भत्ता निकासा, दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौं, ८ मंसिर । जीवित व्यक्तिलाई मृत्यु भएको देखाएर भत्ता निकासा गरेकाे अभियाेगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिव कुमार महतोसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन वडा सचिव महतो र निर्मला खत्रीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन वडा सचिव महतोले निर्मला खत्रीसँगको मिलेमतोमा खत्रीको जीवित श्रीमानको मृत्यु भएको भनी निर्मला खत्रीबाट सूचना लिई बद्नियतपूर्वक सूचनाको आधिकारिकता सम्बन्धमा कुनै छानबिन नगरी, कानून बमोजिम पेश हुनुपर्ने कागजातहरु समेत संलग्न नराखी निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाउन मृत्युको सूचना फारम विवरण भरी प्रविष्ट गरी जीवित व्यक्तिलाई मृत्यु भएको भनी मृत्यु दर्ता अभिलेख तयार गरी सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएर ४५ हजार २ सय २० रुपैयाँ नेपाल सरकारलाई हानिनोक्सानी गरेको अख्तियारको दाबी छ ।
उनीहरुविरुद्ध ४५ हजार २ सय २० रुपैयाँ बिगो कायम गरी कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।