बाह्य पर्यटनबाट हुने भ्रमण आय उल्लेख्य बढेको राष्ट्र बैंकको समीक्षा

काठमाडौं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले चालु वर्षको पहिलो त्रयमाससम्ममा पर्यटक आगमन संख्या उल्लेख्य रहेको उल्लेख गरेको छ ।

‘सन् २०२३ अक्टोबरसम्म ८ लाखभन्दा बढी पर्यटकहरुको आगमन भएको छ,’ समीक्षामा भनिएको छ,’ ‘बाह्य पर्यटनबाट हुने भ्रमण आय उल्लेख्य बढेको छ । यसबाट रोजगारी, आय आर्जन एवम् आर्थिक गतिविधि चलायनमान बनाउन सहयोग पुगेको छ ।’

अघिल्लो वर्षदेखि विप्रेषण आप्रवाह उल्लेख्य रहेका कारण शोधनान्तर र तरलता स्थितिमा सुधार ल्याउन सहयोग पुगेको पनि समीक्षामा उल्लेख छ । ‘बढ्दो विप्रेषण आप्रवाहबाट घरपरिवारको माग विस्तार गरी आन्तरिक माग बढाउन सहयोग पुगिरहेको छ । विगत दुई वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यालाई दृष्टिगत गर्दा अघिल्लो वर्ष जस्तैचालु वर्ष पनि विप्रेषण आप्रवाह उच्च रहने देखिन्छ,’ समीक्षामा भनिएको छ,’ ‘यसबाट अर्थतन्त्रमा तरलता प्रवाह बढ्न गई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ ।’